संखुवासभा हत्याकाण्ड : योजनाबद्ध रूपमा ५ जनाले गरेका थिए हत्या
संखुवासभा । संखुवाासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या योजनावद्ध रूपमा भएको पाइएको छ ।
छ जनाको हत्यामा पाँच जनाको संलग्नता रहेको भन्दै प्रहरीले चार जनालाई आज सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् ।
घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । आज जिल्ला प्रहरी कार्यालय खाँदबारीमा सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले बाँकी चारजनालाई सार्वजनिक गरेको हो । घटनाको मुख्य योजनाकार खड्गबहादुर रहेको प्रहरीको दाबी छ ।
घटनाको अघिल्लो दिन नै खड्गबहादुर कार्कीको घरमा तेजबहादुरको हत्या गर्ने योजना बनेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । तेजबहादुरको हत्या गर्दा अन्य कसैले देखेमा उनीहरुको समेत हत्या गर्ने योजना बनेको र सोही योजना अनुसार हत्या भएको उनीहरूले स्विकार गरेका छन् ।
तेबहादुरसँगको व्यक्तिगत रिसिबीका कारण हत्या भएको देखाएको प्रहरीले जनाएको छ । पाँचजनाले ५८ वर्षीय तेजबहादुर, ८४ वर्षीया पार्वता, ५२ वर्षीया कमला, ३२ वर्षीय रञ्जना, ११ वर्षीय दीपेन र ७ वर्षीय गोमा कार्कीको हत्या गरेका थिए ।
लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई र नरेशको बयानपछि प्रहरीले अन्य तीनजनालाई पक्राउ गरेको थियो । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान नरेश र अन्य तीन जना तानिएका थिए ।
प्रतिक्रिया