किन भइरहन्छ खट्पट ?
पेरिस । अस्ट्रेलियालाई पनडुब्बी बिक्री गर्ने विषयमा अहिले अमेरिका र फ्रान्सबीच मतभेद सतहमा आएको मात्र छैन फ्रान्सले राजदूत फिर्ता बोलाउनेसम्मको कडा कदम चालिसकेको छ ।
यसबीच फ्रान्स र ब्रिटेनका रक्षामन्त्रीहरुको बैठकसमेत रद्द भएको छ । इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षालाई लिएर विगतमा अमेरिका-ब्रिटेन र अस्ट्रेलियाबीच एउटा डिल (सम्झौता) भएको थियो । जसअन्तर्गत अमेरिका र ब्रिटेनले अस्ट्रेलियालाई न्युक्लियर सबमरिन उपलब्ध गराउने कुरा उल्लेख छ । यता फ्रान्स यही कुरालाई लिएर रुष्ट भएको बताइन्छ । फ्रान्सको दाबी छ- अस्ट्रेलियाले अमेरिका र ब्रिटेनसँग सम्झौता गरेपछि फ्रान्ससँग त्यसअघि नै गरेको पनडुब्बी खरिदको अर्बौं रुपैयाँको सम्झौता रद्द गरिदियो । अब फ्रान्सका राष्ट्रपति एमेनुएल माक्रोले अमेरिकी राष्ट्रपति जे बाइडेनसँगको भेटमा यो विषयलाई प्रमुख मुद्दाका रुपमा उठाउन सक्छन् ।
भनिन्छ फ्रान्सेली राष्ट्रपतिले अस्ट्रेलियाद्वारा फ्रान्ससँगको पनडुब्बी खरिद सम्झौता अचानक रद्द गरेपछि आफ्नो देश र अमेरिकाबीच उत्पन्न तनावलाई लिएर चाँडै अमेरिकि राष्ट्रपति जे बाइडेनसँग वार्ता गर्नेछन् । फ्रान्सेली सरकारका प्रवक्ता ग्र्याब्रिएल अटालका अनुसार बाइडेनका तर्फबाट फोनमा कुराकानी गर्ने अनुरोध आएको छ । फ्रान्सेली सरकारका प्रवक्ताले बताए अनुसार यो विषयमा हामी पहिले ‘स्तब्ध’ र ‘आक्रोशित’ थियौं तर अब अगाडि बढनुपर्नेछ ।
खास कुरा के भने अस्ट्रेलियाले १२ वटा पारम्परिक डिजल-इलेक्ट्रिक पनडुब्बी निर्माणका लागि सन् २०१६ मा फ्रान्स सरकारको स्वामित्वमा रहेको नौसैन्य कम्पनीका साथ ९० अर्ब अस्ट्रेलियाई डलर (६६ अर्ब यूएस डलर) को सम्झौता गरेको थियो । अहिले अस्ट्रेलियाले अमेरिका र ब्रिटेनका साथ परमाणु ऊर्जा चालित आठवटा पनडुब्बीका लागि नयाँ सम्झौता गरेको छ । फ्रान्सको भनाइमा उसलाई यो नयाँ सम्झौताबारे केही बताइएन । बरु उल्टै अस्ट्रेलियाले आफूसँग गरेको पनडुब्बी सम्झौता अचानक रद्द गरिदियो । फ्रान्सले यही कुराको विरोध स्वरूप अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलायो ।
अमेरिका-बेलायत तथा अस्ट्रेलियाबीचको सम्झौताले फ्रान्स र अस्ट्रेलियाबीचको ४३ अर्ब डलरको सम्झौतालाई समाप्त पारिदियो । यही सम्झौतालाई लिएर रुष्ट फ्रान्सले अमेरिकी राष्ट्रपति जे बाइडेनविरुद्ध ढाडमा छुरा रोपेको आरोप लगाउँदै उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकै जस्तो व्यवहार गरेको कुरा बताएको थियो ।
फ्रान्स र अमेरिकाबीच मतभेद भएको यो पहिलो घटना होइन । यसअघि कैंयन् अन्तर्राष्ट्रिय विषयदेखि लिएर सन् २००३ मा भएको इराक युद्धलाई लिएर पनि दुवै देशबीच मतभेद देखिएको थियो । यद्यपि ती मतभेदका बाबजुद पेरिसले राजदूत फिर्ता बोलाउने कडा कदम भने चालेको थिएन । फ्रान्सको अहिलेको आक्रोश हेर्दा अमेरिका र अस्ट्रेलियामा फ्रान्सेली राजदूत कहिले फर्कने हुन अनुमान लगाउन गाह्रो छ ।
यता अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्- फ्रान्सलाई राम्रोसँग थाहा छ कि पेरिसले जुन पनडुब्बी निर्माण गरिरहेको छ त्यसबाट अस्ट्रेलियाको आवश्यकता पूरा हुँदैन । हाम्रो ‘गहिरो र गम्भीर चिन्ता’ यही कुरालाई लिएर थियो ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया