शनिबार, वैशाख १५, २०८१

तीनदिने मुपात्र जात्रा आजदेखि सुरु

नेपालखोज २०७८ असोज ६ गते ९:१०

भक्तपुर । तीन दिन सम्म भक्तपुरमा मनाइने मुपात्र जात्रा आज साँझदेखि सुरु हुँदैछ । यो पर्व इन्द्रजात्राकै अवसरमा मनाइन्छ ।

विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको मुपात्र जात्रा आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङले शृङ्गारपटारका साथ तरबार समात्न लगाई नगर पूरै परिक्रममा गराउने प्रचलन छ ।

नगर परिक्रमा गर्दा भक्तपरका टोल–टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछन् । जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ ।

आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ ।

जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरूपमा बलिसहितको सरकारी पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोल तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ ।

जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ । त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।

प्रतिक्रिया