‘महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहन जरुरी’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहन अति नै जरुरी रहेको बताएकी छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले विज्ञान दिवस सप्ताहको उपलक्ष्यमा आज आयोजना गरेको ‘महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा विज्ञान प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उनले भावी दिनमा आउने जोखिम न्यूनीकरणमा निकै सहयोग गर्ने बताए ।
सो समस्या समाधानका लागि नाष्टले अन्य वैज्ञानिकका साथै प्रविधिको समेत खोजी गर्न जरुरी रहेको आचार्यले औँल्याए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले विदेशी वैज्ञानिकको मुख ताक्ने क्रम तोडेर अब स्वदेशी वैज्ञानिकले नै केही गरेर देखाउने समय आएको धारणा राखे ।
नाष्टका प्राज्ञ प्रा.डा. विशालनाथ उप्रेतीले मुलुकवासीको जीउज्यानको सुरक्षाका लागि नाष्टका साथै सम्बन्धित विश्वविद्यालयले प्रविधिको व्यवस्था गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।
प्राज्ञ प्रा.डा. रमेशकान्त अधिकारीले आपत्कालीन पूर्वानुमान निगरानी व्यवस्थाका लागि वैज्ञानिकको एक समूह गठन गर्न आवश्यक रहेको बताए । सह प्राज्ञ रञ्जन दाहालले महामारी र प्रकोप व्यवस्थापनको क्षेत्रमा विगतमा भएका गल्तीलाई सच्याउँदै अघि बढ्न जरुरी भएको सुझाव दिए ।
मुख्य वैज्ञानिक डा कान्ति श्रेष्ठले आउँदा महामारीबाट जोगिन ओमेगा थ्री प्राप्त खानेकुराका साथै नेपाली भान्छामा प्रयोग हुने वस्तुलाई जोड दिँदै जान अनुरोध गरे ।
वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेलले महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा अध्ययन अनुसन्धानका साथै आवश्यक प्रयोगशालको पनि व्यवस्था हुनुपर्नेमा जोड दिए ।
प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले फोहर सामग्रीलाई आफूहरुले बायोचारमा प्रयोग गर्नाका साथै साना जलविद्युत्का क्षेत्रमा भएका अवसरबारे अध्ययनका साथै अनुसन्धानसमेत गरिरहेको बताए ।
मुलुकको उच्च हिमाली भागमा माइक्रो प्लास्टिक भेटिँदा हामीले पिउने पानी र हावामा समेत सोको असर रहेकाले विचार पुर्याउन जरुरी रहेको ढकालले जानकारी गराए ।
उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सो क्षेत्रमा जोखिम संवेदनशील योजना निर्माण गर्न जरुरी रहनाका साथै जलवायु परिवर्तन खाकासमेत तयार गर्न आवश्यक रहेको औँल्याए । –रासस
प्रतिक्रिया