शनिबार, वैशाख ८, २०८१

एमालेको ३ प्रस्तावमाथि छलफल गर्न १० समूह

नेपालखोज २०७८ असोज ८ गते १५:०७

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत् गरिने राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत् भएको छ ।
 
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रिय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो ।

बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका तीन प्रतिवेदन राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संसोधन सम्बन्धी प्रतिवेदनसहित सुझावहरु केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरिएको बताए ।

उनले प्रतिवेदनमाथि छलफल गर्नको निम्ति १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरुको एक समूह, विभागीय प्रमुखहरुको समूह र प्रदेशमा सम्पर्क कमिटीहरु, उपत्यका विशेष कमिटीहरु,लगायतका समूहहरुलाई हेर्न अर्को समूह निर्माण गरेको बताए ।

भट्टराईले प्रतिवेदनमाथि विभिन्न समूहहरुले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे बस्ने केन्द्रिय कमिटीको बैठकमा आफ्ना सुझाव राख्ने बताए ।

विभाग प्रमुख भट्टराईले शनिबार दिउँसो १ बजे बस्ने पार्टीको केन्द्रिय कमिटीको बैठकमा समूहगत नेताहरुले आफ्नो सुझाव दिएपछि प्रतिवेदन दस्तावेजहरुलाई परिमार्जन गरेर असोज १५ गते आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने बताए । एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदैछ ।
 

प्रतिक्रिया