‘स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री प्राथमिकता’
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेको ‘ग्लोबल कोभिड–१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड–१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका छन् ।
उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उनले नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले नेपालले कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित जनसङ्ख्यामध्ये ५० प्रतिशतलाई खोपको पहिलो मात्रा र एक तिहाइ जनसङ्ख्यालाई पूर्ण खोप लगाइसकेको जानकारी दिए ।
आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उनको भनाइ छ ।
उनले नेपालले कोभिड–१९ को परीक्षण तथा खोपको पहुँचको दायरालाई ग्रामीण क्षेत्रसम्म पनि पुर्याएको जानकारी पनि सो सम्बोधनमा गराए ।
प्रधानमन्त्री देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गर्ने विदेशी दाता राष्ट्र तथा साझेदार सबैलाई धन्यवाद दिँदै विश्वस्वास्थ्य सुरक्षा कोषमा योगदान गर्ने साझेदारप्रति समेत आभार प्रकट गरे ।
प्रतिक्रिया