सोमबार, मंसिर १७, २०८१

पहिरोको रोकथाम गर्दै स्थानीयको सुरक्षा गर्न पहिरो पीडितको माग

नेपालखोज २०७८ असोज ८ गते १७:५९
फाइल फोटो

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का पहिरो पीडितले पहिरोको रोकथाम गर्दै स्थानीयको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ३ स्थित ज्योतिनगर र लक्ष्मीनगरमा असोज ४ गते गएको पहिरोले निकै क्षति पु¥याएको छ ।

स्थानीयको ३ दर्जन भन्दा बढी घर भवनमा क्षति पुगेकाले विस्थापित भएका छन् भने धनमालमा समेत क्षति पुगेको छ । तर त्यहाँको भौगोलिक अवस्था हेर्दा अझै ठुलो विपत्तिको सामना गर्नुपर्ने अवस्था आउनसक्ने देखिएको हुँदा स्थानीय त्रसित भएका छन् । स्थानीयलाई भविष्यमा आइपर्ने विपत्तिको चिन्ताले पनि उत्तिकै सताएको छ ।

पहिरोका कारण ज्योतिनगर र लक्ष्मीनगरका सयौँ घरहरु जोखिममा परेका छन् । अहिले विस्थापित परिवारको व्यवस्थापनमा समस्या परेको छ साथै स्थानीयले अहिले पहिरोका कारण घरबारबिहिन हुँदा पनि स्थानीय सरकार तथा प्रशासनले सहयोग नगरेको गुनासो गरेका छन् । अझैपनि ठुलो पहिरोको सम्भावना रहेकाले पहिरोको उचित रोकथाम तथा न्यूनिकरण गर्दै स्थानीयको जनधनको रक्षा गर्न माग गरेका छन् । स्थानीय सरकारले मात्रै व्यवस्थापन गर्न नसक्ने भन्दै प्रदेश र केन्द्र सरकारले पनि वस्तीको सुरक्षाको लागि ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पहिरो गएपछि तत्कालै बस्तीमा पसेको ढुंगा, माटो, लेदो पन्छाउने काम गरेको बताए । उनले उपमहानगरपालिकाले जनधनको सुरक्षालाई पहिलो प्राथमिकता दिदैँ क्षति हुनबाट रोक्नको लागि काम गरेको पनि उल्लेख गरे । पहिरो रोकथाम तथा न्यूनिकरणका लागि भने सो जंगल राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगतको रहेको हुनाले अन्य निकायबाट पनि समन्वय हुनुपर्ने भएकाले बैठक गरी आवश्यक काम गर्न तयारी गरीरहेको बताए ।

मेयर सुवेदीले पहिरो गएको वस्तीमा भुगर्भविद्हरुलाई ल्याएर अध्ययन गरिरहेको पनि उल्लेख गरे । पहिरोबाट विस्थापितहरुको लगत संकलन गरिरहेको भन्दै उनले लगत संकलन सकेपछि व्यवस्थापन गरिने बताए । असुरक्षित वस्ती भएकाले वस्ती सार्नकालागि उपमहानगरपालिकाले ११ बिगाहा जग्गा सिफारिस गरिसकेको र बाँकी प्रक्रिया प्रदेश र केन्द्र सरकारले मिलाउनुपर्ने पनि उनले बताए ।

त्यसो त, यो स्थानमा पहिरोको समस्या नयाँ होइन । २०५५ सालमा पनि यसैगरी पहिरो गएको र भुगर्वविद्हरुलाई बोलाइ अध्ययन गर्दा करिब ३५७ घरपरिवार रेड जोनमा परेको रेखांकनसमेत गरिएको थियो । विस्थापित भएका ४ दर्जन बढी घरपरिवारलाई जग्गा दिएर अन्तै व्यवस्थापन पनि गरिएको भएपनि पुनः मानिसहरु फर्केर आइ बसोवास गरेको उक्त क्षेत्रबाट हाल प्रदेश सभा सदस्य रहेका तात्कालिन बुटवल नगरपालिकाका प्रमुख भोजप्रसाद श्रेष्ठले बताए । सरकारले वस्ती सार्ने विषयमा गम्भिरता नदेखाउँदा पुनः घटना घटेको उनले बताए ।

प्रदेश सभा सदस्य श्रेष्ठले ठोस रुपमा प्रदेश सरकारले यस्तो काम गर्नेछ भनेर भन्न नसकेपनि त्यस क्षेत्रमा अल्पकालीन र दिर्घकालीन रुपमा समस्या समाधानका लागि प्रदेश सरकार समक्ष पहल गर्ने बताए । रेड जोनमा पारिएको वस्तीलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्नेमा उनको जोड छ । पहिरो पीडितलाई व्यवस्थापन गर्न तिनै तहको सरकारबीच समन्वय गरेर अगाडी बढ्ने उनले बताए ।

प्रतिक्रिया