मंगलबार, मंसिर १८, २०८१

मनसुन अझै लम्बिने !

'आगामी मनसुनमा धनजनको क्षति हुन नदिनका निम्ती अहिलेदेखि नै पूर्व तयारी थाल्न आवश्यक'

मीना साउँद २०७८ असोज १० गते १२:०१

काठमाडौं । यस वर्ष मनसुन हप्ता दश दिन लम्बिने भएको छ । सामान्यत् सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिने समय हो तर यस वर्ष बाहिरिएको छैन् । मनसुन नेपालमा अझै सक्रिय छ । गत वर्ष नेपालमा अक्टोबर १ (असोज १५) मा पश्चिम भागबाट र अक्टोबर १५ (असोज २९) मा पूर्वी भागबाट बाहिरिएको थियो ।

जलवायु तथा प्रकोप विज्ञ डा धर्मराज उप्रेतीका अनुसार सुदूरपश्चिम, वाग्मती र कर्णाली प्रदेशका केही भू–भागमा बादल लाग्ने र पानी पर्ने सम्भावना अझै एक साता रहने सम्भावना रहेको छ । नेपालमा यस वर्ष गत जेठ २८ गते मनसुन भित्रिएको थियो ।

यस वर्षको मनसुनी गतिविधि घातक
जलवायु तथा प्रकोप विज्ञ डा धर्मराज उप्रेतीले समग्रमा यस वर्षको मनसुनी गतिविधि अत्यन्तै घातक रहेको बताएका छन् । गत असार १ गते गएको बाढीले मेलम्ची क्षेत्रमा मात्रै करोडौंको क्षति भएको छ । यस वर्ष बाढी पहिरोमा परि ३ सयको हाराहारीमा मानिसले ज्यान गुमाएका छन् भने ४१ जना वेपत्ता भएका छन् । ४८४ जना घाइते भएका छन् । यस वर्ष मनसुनजन्य १ हजार ८३० घटना भएका छन् जसमा धेरैले घरवार गुमाएका छन् ।

‘यस वर्षको मनसुनले मेलम्चीमा मात्रै करोडौंको क्षति भएको छ । जनको क्षति भएको छ । पहिरोमा परि कयौं घरहरु भासिएका छन् । मेलम्चीको सभ्यता नै ध्वस्त भएको छ,’ उनले भने, ‘त्यति मात्रै होइन मेलम्ची, हेलम्बु क्षेत्रमा रहेका बाटाघाटा, पुलपुलेसा सारा ध्वस्त भएका छन् । १८ वटा मात्रै त राजमार्ग जोड्ने कंक्रिट पक्की पुलहरु भत्किएका छन् । बुटवल जस्तो शहर नै खतरामा परेको छ ।’

मनाङ मुस्ताङ जिल्ला जहाँ कहिले पनि ठूलो बाढी आउने कल्पना पनि गरिएको थिएन् त्यहाँसमेत यस वर्षको मनसुनमा ठूलो बाढी आएको छ । बाढीले त्यहाँको सहरी सिस्टमलाई नै ध्वस्त बनाएको छ । यस कारण पनि यस वर्षको मनसुनलाई समग्रमा घातक भन्न सकिन्छ । 

अर्को मनसुनका लागि अहिले नै तयारी थाल्नु पर्छ
जलवायु तथा प्रकोप विज्ञ डा धर्मराज उप्रेतीले आगामी मनसुनमा धनजनको क्षति हुन नदिनका निम्ती अहिलेदेखि नै पूर्व तयारी थाल्नु पर्ने बताएका छन् । सरकारले मनसुनी गतिविधिबाट हुने क्षति न्यूनिकरणका लागि गर्ने पूर्व तयारी प्रयाप्त नहुँदा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति ब्योहोर्नु परेको छ । पूर्व तयारी छिटो गर्दै नगर्ने गरे पनि पर्याप्त हुन नसक्दा वर्षेनी धेरैले अकालमा ध्यान गुमाउनु परिरहेको छ भने हजारौ घरवार बिहिन हुन बाध्य हुन्छन् ।

उनले भने, ‘सरकारले मनसुनको पूर्व तयारी गर्दै गर्दैन गरेपनि मनसुनको मुखैमा आएर गरिएको तयारीले धनजनको क्षति हुनबाट रोक्नु भन्दा पनि क्षति भइसकेपछि राहात कसरी बाँड्ने भन्नेमा केन्द्रीत हुन्छ । यसले क्षति हुनबाट रोक्न सक्दैन् ।’

पूर्व तयारीका कामहरु, पूर्व सूचना प्रणालीको विकास र विस्तारलाई अहिलेदेखि नै सुरु गर्नु पर्ने र प्रभावमा आधारित सूचना प्रणालीलाई पनि अघि लैजानु पर्ने डा उप्रेतीको भनाई छ । प्रभावमा आधारित सूचना प्रणाली भन्नाले समुदायसम्म यति पानी पर्यो, यति हावा आयो या यस्तो खालको सिस्टम डेभलव भएपछि कुन समुदायमा कस्तो असर पर्छ भन्ने कुराको जानकारी समुदायसम्म पुर्याउने एक खालको मेकानिजम हो । यसलाई जतिसक्दो छिटो अघि बढाउनु पर्ने डा उप्रेतीले बताए । उनले भने, ‘प्रभावमा आधारित सूचना प्रणालीलाई जतिसक्दो चाँडो समुदायसम्म पुगाउने र ७५३ वटै स्थानिय निकायका स्थानिय आपतकालिन केन्द्रको विकास, विस्तार, क्षमता अभिवृद्धि गर्नु पर्छ ।’

साथै उनले राष्ट्रिय विपत् जोखिम न्यूनिकरण प्राधिकरणले सबैसँग समन्वय गरेर विपत् जोखिम न्यूनिकरणका लागि गर्नु पर्ने कामहरु अहिलेदेखि नै थाल्नु पर्ने बताए । आगामी मनसुनी गतिविधिबाट हुने क्षतिबाट बच्न अहिलेदेखि तयारी प्रभावकारी ढंगले गर्न सके आगामी वर्ष हुने जोखिमलाई घटाउन मद्दत पुग्ने उनले बताएका छन् ।

प्रतिक्रिया