आइतबार, जेठ ६, २०८१

३८ क्विन्टल सुन तस्करीसम्बन्धी मुद्दाको अन्तिम बहस आजदेखि

नेपालखोज २०७८ असोज १० गते ७:५८

मोरङ । ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आइतबारदेखि सुरु हुँदैछ । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको उक्त मुद्दाको बहस विराटनगरमा हुनेछ ।

असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेर्दाहेर्दैमा राखिएको मुद्दामा कानुन व्यवसायीका तर्फबाट बहस सुरु हुने अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालाले बताए । मुद्दाको किनारा दसैंअगाडि नै लगाउने तयारी रहेको उनको भनाई छ ।

उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो ।

सो मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालको नेतृत्वमा सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेललगायतले बहस गर्ने छन् ।

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन काठमाडौं ल्याइपु¥याएपछि गायब बनाइएको थियो । अहिलेसम्म फेला नपरेको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो ।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया