मंगलबार, वैशाख ११, २०८१

‘हाम्रा बारीका फूल कुहिए’

आन्दोलनको तयारीमा पुष्प व्यवसायी

नेपालखोज २०७८ असोज ११ गते ८:००

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले फेरि आन्दोलन गर्ने भएको छ । नेपाली उत्पादन बजारमा हुँदाहुँदै भारतबाट निर्वाधरुपमा फूल आयात भइरहेको भन्दै एसोसिएसनले आन्दोलन गर्ने तयारी थालेको हो । केही दिन पहिले पनि नेपालका पुष्प व्यवसायीहरुले आन्दोलन गरेका थिए ।

किसानले उत्पादन गरेका फूल बारीमै खेर गइरहेको अवस्थामा भारतबाट भने निर्वाध फूल आयात भइरहेका फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताए । ‘भारतमा यतिबेला फूल सस्तोमा उत्पादन हुने तर त्यहाँ बजार त्यति नभएर सस्तोमा त्यहाँबाट फूल आयात गरेर यहाँ सस्तोमा बेच्दा पनि व्यापारीहरुलाई राम्रै मुनाफा हुन्छ । त्यसकारण व्यपारीहरुले भारतदेखि फूल आयात गरेर यहाँ सस्तोमा बेच्छन्,’ उनले भने, ‘त्यसले गर्दा हाम्रा किसानले उत्पादन गरेका फूल बारीमा कुहिएर खेर गइरहेका छन् ।’

समग्रमा भारतमा उत्पादन भएको फूलसँग नेपाली उत्पादनले प्रतिस्प्रर्धा गर्न नसक्ने व्यवसायी बताउँछन् । अध्यक्ष तामाङले भने, ‘भारतमा उत्पादन भएको फूलसँग हामीले उत्पादन गरेको फूलले तुलनात्मक रुपमा प्रतिस्पर्धा गर्न सक्दैन् । हाम्रोमा लेवर खर्चदेखि लिएर जग्गा भाडादेखि विउ मलकै कुरा गर्ने हो भने पनि भारतको भन्दा हामीले धेरै नै महंगोमा किन्नु पर्छ ।र, सहजता पनि छैन्,’ उनले भने, ‘यी सबै कारणहरुले गर्दा हाम्रो उत्पादन लागत बढी हुन्छ । भारतको उत्पादन लागत कम हुन्छ । फेरि भारतले किसानलाई ८० प्रतिशतसम्म किसानलाई अनुदान पनि दिइराखेको छ । हाम्रोमा अनुदान पनि छैन् । त्यसकारण त्यहाँको फूलसँग हामीले प्रतिस्प्रर्धा गर्न सक्दैनौं ।’

व्यापारीहरुले माग भन्दा बढी फूल भित्र्याउदा नेपाली किसानले उत्पादन गरेको फूल भने बारीमै खेर गइरहेका कारण त्यो बन्द गर्नु पर्ने माग गरि आफूहरुले यस अघि पनि आन्दोलन गरेको अध्यक्ष तामाङले बताए । उनले भने, ‘यो आन्दोलन फेरि पनि गर्नु पर्ने अवस्था आएको छ । भर्खर मात्रै बजारमा माग भन्दा बढी फूल आयात भयो भनेर गुनासो आएको छ । किसानहरुले यो समास्या तत्काल समाधान गर्न माग गरिरहेका छन् । यो समास्या समाधान भएन भने फेरि आन्दोलन गर्छौ हामी ।’

यस अघिको आन्दोलनमा आवश्यक परेको खण्डमा मात्रै फ्लोरिकल्चर एसोसिएसनसँग समन्वय गरेर फूल आयात गर्ने पुष्प व्यवासायी र व्यापारीबीच लिखित सहमति भएको थियो । तर, अहिले त्यो लिखित सहमतिको विरुद्धमा गएर फेरि बजारमा माग भन्दा बढी फूल आयात भइरहेको गुनासो आएको उनले बताए । पुष्प व्यवासायीहरुले केही समय अघि भारतबाट आयातित फूल जफत गरी जलाएको घटनामा संलग्नहरुविरुद्ध मुद्दा चलाइएको भन्दै त्यसको विरोध गरेका थिए ।

प्रतिक्रिया