आइतबार, जेठ ६, २०८१

मोरङमा औद्योगिक सर्वेक्षण

नेपालखोज २०७८ असोज ११ गते ६:४६

मोरङ । उद्योग संगठनले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण– २०७८ सुरुआत गरेको छ ।

सबै औद्योगिक प्रतिष्ठानको तथ्यांक संकलन गरी ‘डाटाबेस’ तयार गर्ने लक्ष्यका आइतबारदेखि सर्वेक्षण सुरु भएको हो ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले एक पटक तथ्यांक संकलन तयार गरेपछि नियमितरुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिए ।

संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानको सबै र बाँकी अन्य उद्योगको समेत तथ्यांक संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चूडामणि भट्टराईले बताए ।

उनका अनुसार उद्योगका विविध आयाम समेटिएका करिब १०० प्रश्न लिएर पाँच गणक तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्ने छन् ।

संगठनले तत्यांकको गुणस्तरीयतालाई मध्यनजर गर्दै गणकका लागि दुई दिनको तालिमसमेत सञ्चालन गरेको थियो । उनका अनुसार गणकले मोबाइल एपबाट तथ्यांक संकलन गर्ने छन् र यसरी संकलन गरिएको तत्यांकको गुणस्तरीयता अनलाइनबाटै अनुगमन गर्न सकिने छ ।

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्यांक संकलनको काम यही महिनाभित्रमा सक्ने र मङ्सिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ ।

संगठनले तथ्यांक संकलनका लागि खटिआउने संगठनका प्रतिनिधिलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तत्यांक उपलब्ध गराई संगठनको औद्योगिक तत्यांक र डाटाबेस तयार गर्ने अभियानलाई सहयोग गर्न उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया