शुक्रबार, वैशाख १४, २०८१

हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेना पक्षका गरी ६७ जनाको मृत्यु

नेपालखोज २०७८ असोज ११ गते २१:५१

दुबई । यमनमा भएको झडपमा परी ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य सहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ ।

इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको स्रोतले जनाएको छ । मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

प्रान्तभरी रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी रहेका छन् । ‘पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ,’ सैन्य स्रोतले भन्यो ।

अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्रोहीहरूले भने कहिले कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् ।

सैन्य स्रोतले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठवन्धन सेनाले २० हवाई आक्रमण गरेको थियो ।रासस/एएफपी

प्रतिक्रिया