बिहीबार, चैत १५, २०८०

थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपालखोज २०७८ असोज १२ गते ८:२८


काठमाडौं । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ ।

थुनामा रहेका प्रतिवादी छुटाउन उनका आफन्तबाट र थुनामा रहेकासमेतसँग गरी पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनुपर्छ भन्दै झुटो आश्वासन देखाई झुक्यानमा पारी गिरीले उल्लेखित रकम लिएको जिल्ला प्रहरी कार्यालयका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार गत भदौ १६ गतेदेखि विभिन्न मितिमा प्रतिवादीको आफन्तसँग रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गिरीले पटक–पटक पैसा मागेपछि प्रतिवादीका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । गिरीलाई प्रहरीले धुलिखेल नपा–७ बाट पक्रेर गरी सोमबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

गिरीलाई मुलुकी अपराध संहिता–२०७४ को दफा २५३ आपराधिक लाभ (एक्सटर्न) लिन नहुने कसुरमा सजाय हुनेछ । रासस

प्रतिक्रिया