बिहीबार, वैशाख ६, २०८१

सर्लाहीका आठवटै सीमानाका खुला

नेपालखोज २०७८ असोज १२ गते १०:४८

काठमाडौं। कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द थिए ।

नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो ।

नेपाल सरकारले निर्णय गरेपछि बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका सर्लाहीका आठवटै नाका खुला गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

उनका अनुसार बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका आठवटै नाका खुला गर्ने निर्णय गरिएको भए पनि आवागमनमा विभिन्न चारवटा बुँदा अनिवार्य पालना गर्नुपर्ने छ ।

अब स्थानीयवासीले आफूहरूलाई घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामग्री ल्याउन, आफन्त भेट्न जान आउनसमेत समस्या भएको र अब सीमा खुल्ल भएपछि सहज हुने विश्वास लिएका छन् ।

नेपाल–भारत सामाजिक सम्बन्ध रहेका कारण पनि सीमाबाट सहजरूपमा आउनजान पाउनुपर्ने उनको माग छ ।

बिरामी भएर उपचार गर्न जानआउनसमेत समस्या हुनुका साथै दैनिक उपभोग्य सामग्री ल्याउन आफूहरूलाई समस्या भएको त्रिभुवननगरका विन्देश्वर महतोले बताए।

खुला गरिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जनाएको छ । स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।

प्रतिक्रिया