मंगलबार, चैत ६, २०८०

सरकारले बजेटमार्फत कालो धनलाई सेतो बनाउन खोज्यो : अध्यक्ष ओली

नेपालखोज २०७८ असोज १२ गते २०:३४

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यामप्रति असन्तुष्टि जनाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गरे ।

प्रमुख सञ्चार माध्यामका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उनले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी गर्न नपुगेको पनि स्पष्ट पारे । अध्यक्ष ओलीले भने, ‘सरकारलाई खवरदारी गरेन भने लापरबाही जस्तो हुँदो रहेछ । जस्तो अहिलेको सरकार । अहिलेको सरकारलाई खवरदारी पुगेनकि जस्तो लाग्छ । संविधान, कानुनको मतलव छैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गरे । उनले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कम्जोर पार्ने भएकाले आफू चिन्तित भएको तर्कसमेत गरे । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत् कालो धनलाई सेता बनाउन खोजेको भन्दै आपत्ति जनाए । सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने ओलीको दावी थियो । तर आफ्नो पार्टीेले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओली बताए ।

अध्यक्ष ओलीले एमसीसीबारे सरकारको धारणा पुनः माग गरे । उनले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो र भनि प्रश्नसमेत गरे । अध्यक्ष ओलीले सरकारको धारणा नआई आफूहरुले सोबारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्‍याए । उनले भने, ‘यो सम्बन्धमा सरकारको दृष्टिकोण के हो ? १६५ सिट भएको सरकारको । पारित गर्ने हो कि होइन, हामीलाई केही सेयर गर्नु भएको छैन ।’

अध्यक्ष ओलीले मुलुक अव निर्वाचनमा जानुको विकल्प नरहेको बताए । संसदले कामै गर्न नसकेको अवस्थामा मुलुक अर्लि निर्वाचनमा जानुपर्ने उनको तर्क थियो । अध्यक्ष ओलीले भने, सरकारले काम गर्न सकेन । त्यसले निर्वाचनमा जानुपर्छ । एमालेले अवको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनेछ ।‘ अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेकाले संसद अवरोध गर्न बाध्य हुनुपरेको पनि दोहो¥याए ।

प्रतिक्रिया