तनहुँमा अझै निषेधाज्ञा जारी
दमौली । तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले यसअघि जारी भएको निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम अझै कम नभएको निष्कर्षसहित केन्द्रले निषेधाज्ञा आदेश कायम गरेको हो ।
केन्द्रका संयोजक एवं प्रजिअ विश्वप्रकाश अर्यालले आज (बुधबार) विज्ञप्ति जारी गरी यसअघि जारी भएको निषेधाज्ञालाई अर्को आदेश नभएसम्म जिल्लाभर लागू गरिएको जानकारी दिए ।
मन्त्रिपरिषद्को यही असोज ५ को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उदफा ३, सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सो आदेशलाई निरन्तरता दिइएको हो ।
आदेशमा सर्वसाधारण सबैले मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, समयसमयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, चाडपर्व मनाउँदा भीडभाड नगर्न, सकभर घरमै मनाउन, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरेर मात्र आवतजावत गर्न, अनावश्यक रुपमा मानिसहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा हल, व्यायामस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्य मापदण्डको पालना हुने गरी सञ्चालन गर्न, सार्वजनिक यातायात सञ्चालकले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, बैठक गोष्ठी भर्चुअल माध्यमबाट गर्न, भौतिक उपस्थितिमा गर्नैपर्ने भएमा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना हुने गरी गर्न पनि आदेशमा उल्लेख छ ।
विद्यालयलगायत शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने सम्बन्धमा कोभिड–१९ जोखिमको विश्लेषण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाउने मापदण्डका आधारमा सञ्चालन गर्न आदेश गरिएको छ ।
प्रतिक्रिया