मंगलबार, मंसिर १८, २०८१

‘दीर्घरोगीको उपचार निःशुल्क गर्न सरकार लागिपरेको छ’

नेपालखोज २०७८ असोज १३ गते १३:३३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँ अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए ।

विश्व मुटु दिवसको अवसर पारेर बुधबार (आज) ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए ।

वर्तमान सरकारले आफ्नो करिव ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाई छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए ।

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारिरीक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे ।

उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साढे ३२ किलोमिटर साईकल ट्रयाक बनाएको जानकारी दिए ।

उनले साईकल चढेर नागरिकहरुले शारिरीक व्यायाम गरुन भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साईकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताए ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. रवी मल्ल, क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, स्थायू रोग विशेषज्ञ डा. वसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया