शुक्रबार, मंसिर २८, २०८१

किफायती कम्प्याक्ट एसयूभी, स्पोर्टी लुक र सानदार माइलेज

नेपालखोज २०७८ असोज १४ गते ७:५५

काठमाडौं । अहिले सब-फोर-मिटर कम्प्याक्ट सेग्मेन्ट निकै लोकप्रिय हुँदै गएको छ । कम मूल्य, स्पोर्टी लुक र राम्रो स्पेसका कारण यस्ता गाडी मानिसको रोजाइमा छन् । उपभोक्ताहरुको यस्तै रूचि र चाहनालाई मध्यनजर गर्दै पछिल्लो समय बजारमा थुप्रै नयाँ मोडलका गाडी आएका छन् । टाटादेखि लिएर निशान कम्पनीसम्मले कम्प्याक्ट एसयूभी बजारमा उतारेका छन् । चाडबाडको मुखमा गाडी किन्ने योजनामा हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि उपयोगी साबित हुन सक्छ ।

रेनोल्ट किजर : फ्रान्सको प्रमुख वाहन निर्माता कम्पनी रेनोल्टले हालै आफ्नो किफायती कम्प्याक्ट एसयूभी किजर लन्च गरेको छ । यो एसयूभी डुअल टोन कलर अप्सनका साथ पाँचवटा भेरियन्टमा तयार पारिए पनि नेपालमा सबै भेरियन्ट उपलब्ध नहुन सक्छ । यो एसयूभीका दुईवटा भेरियन्ट पेट्रोल इन्जिनका हुन् । जसमध्ये एउटा भेरियन्टमा १.० लिटर क्षमताको नेचुरल एस्पायर्ड इन्जिन प्रयोग गरिएको छ जसले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनरेट गर्छ । पेट्रोलको अर्को भेरियन्टमा १.० लिटरको टर्बो पेट्रोल इन्जिन प्रयोग गरिएको छ जसले १०० पीएस पावर र १६० एनएम टर्क जेनरेट गर्छ ।

फिचर र मूल्य : यो एसयूभीमा नयाँ र आधुनिक फिचरहरु प्रयोग गरिएको छ । यसमा ८ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टमका साथ ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलईडी प्रोजेक्टर हेडल्याम्प, क्रुज कन्ट्रोल, स्टियरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस रिकग्नाइजेसन टेक्नोलोजी, पुस बटन स्टार्ट एन्ड स्टप तथा अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता फिचर्स उपलब्ध हुन्छन् ।

-मूल्य : अन्तर्राष्ट्रिय बजारमा करिब ९ लाख रुपैयाँदेखि १७ लाख रुपैयाँसम्म ।
-माइलेज : १७ देखि २० किलोमिटर प्रतिलिटर ।

निशान मेग्नाइट : जापानी कम्पनी निशानले गएको वर्ष मात्र मेग्नाइट एसयूभीलाई बजारमा ओरालेको हो । यो एसयूभीमा पनि त्यही स्तरको इन्जिन प्रयोग भएको छ जुन रेनोल्टको किजरमा प्रयोग गरिएको छ । पाँचवटा भेरियन्टमा तयार पारिएको यो एसयूभी पाँचसिटे छ । सुरुमा यसलाई इन्ट्रोडक्टरी प्राइसमा लन्च गरिए पनि पछि आएर यसको मूल्यमा केही वृद्धि गरियो ।

मूल्य र फिचर : यो कार एसियन एनसीईपीको क्रस टेस्टबाट गुज्रिएको छ । जसमा यसले फोर स्टार रेटिङ पाएको थियो । निशान मेग्नाइटलाई रेनोल्ट र निसानको एलाइन्समा तयार पारिएको सीएमएफ-ए मोड्युलर प्लेटफर्ममा निर्माण गरिएको हो । यसमा ८ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १६ इन्चको डुअल टोन एलोय ह्‌विल, एयर प्युरिफायर, वायरलेस चार्जर, एम्बियन्ट लाइटिङ, एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) जस्ता फिचर्स उपलब्ध छन् ।

-मूल्य : अन्तर्राष्ट्रिय बजारमा करिब ९ लाख रुपैयाँदेखि १७ लाख रुपैयाँसम्म ।
-माइलेज : साढे १७ किलोमिटरदेखि २० किलोमिटर प्रतिलिटर ।

किया सोनेट : दक्षिण कोरियाको प्रमुख वाहन निर्माता कम्पनी किया मोटर्सको सब कम्प्याक्ट एसयूभी किया सोनेट पनि एउटा राम्रो विकल्प हो । यो एसयूभी दुई पेट्रोल र एक डिजल इन्जिन विकल्पका साथ तयार पारिएको छ । यसको पेट्रोलको एउटा भेरियन्टमा १.० लिटरको टर्बो पेट्रोल इन्जिन प्रयोग भएको छ । जसले १२० पीएस पावर र १७२ एनएम टर्क जेनरेट गर्छ । सोनेटको अर्को भेरियन्टमा १.२ लिटर नेचुरल एस्पायर्ड पेट्रोल इन्जिन प्रयोग भएको छ । जसले ८३ पीएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ । यसको डिजेल भेरियन्टमा १.५ लिटर क्षमताको इन्जिन प्रयोग भएको छ । जसले १०० पीएस पावर र २४० एनएम टर्क जेनरेट गर्छ ।

मूल्य र फिचर : किया सोनेटमा यूभीओ कनेक्टिभिटीका साथ १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध हुन्छ । जसलाई एन्ड्रोइड अटो तथा एप्पल कारप्लेसँग अटो कनेक्ट गर्न सकिन्छ । यो गाडीमा एयर प्युरिफायर, सनरूफ, वायरलेस चार्जिङ, ६ वटा एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) तथा भेहिकल स्टाबिलिटी म्यानेजमेन्टजस्ता फिचर उपलब्ध गराइएको छ ।

-मूल्य : अन्तर्राष्ट्रिय बजारमा करिब ११ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्म ।
-माइलेज : १८.२ देखि २४.१ किलोमिटर प्रतिलिटर ।

टाटा नेक्सोन : टाटा मोटर्सको सुप्रसिद्ध कम्प्याक्ट एसयूभी टाटा नेक्सोन सुरक्षित कारहरुमध्ये एक हो । यो एसयूभी ग्लोबल एनसीईपीको क्रस टेस्टबाट गुज्रिएको छ । जसमा यसले फाइभ स्टार रेटिङ प्राप्त भएको छ । कुल १८ वटा भेरियन्ट बजारमा पठाइएको यो एसयूभी पेट्रोल तथा डिजल इन्जिनका साथ उपलब्ध भए पनि सबै भेरियन्ट नेपालमा भने उपलब्ध छैन । यसको पेट्रोल भर्सनमा १.२ लिटरको टर्बो इन्जिन प्रयोग गरिएको छ । जसले १२० पीएस पावर र १७० एनएम टर्क जेनरेट गर्छ । टाटा नेक्सोनको डिजल भर्सनमा १.५ लिटरको टर्बो डिजल इन्जिन दिइएको छ । यसले ११० पीएस पावर र २६० एनएम टर्क जेनेरेट गर्छ ।

मूल्य र फिचर : यो एसयूभीमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध हुन्छ जसलाई एप्पल कारप्ले तथा एन्ड्रोइड अटोसँग कनेक्ट गर्न सकिन्छ । टाटा नेक्सोनमा डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, टायर प्रेसर मनिटरिङ, क्रुज कन्ट्रोल, अटो एसी, एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम (ईएसपी), आईसोफिक्स चाइल्ड सिटजस्ता सुविधा समेटिएका छन् ।

-मूल्य : अन्तर्राष्ट्रिय बजारमा करिब साढे ११ लाखदेखि २१ लाख रुपैयाँ ।
-माइलेज : १६ देखि २२ किलोमिटर प्रतिलिटर ।

हुन्डाई भेन्यु : हुन्डाईको यो कार आकर्षक लुक र सानदार फिचर्सले सुसज्जित छ । यो एसयूभी दुईवटा पेट्रोल र एउटा डिजल भेरियन्टमा उपलब्ध हुन्छ । यसको एउटा पेट्रोल भेरियन्टमा १.२ लिटर क्षमताको इन्जिन जडान गरिएको छ । जसले ८३ पीएस पावर र ११४ एनएम टर्क जेनरेट गर्छ । अर्को पेट्रोल भेरियन्टमा भने १.० लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन उपलब्ध हुन्छ । त्यसले १२० पीएस पावर र १७१ एनएम टर्क जेनरेटर गर्छ । यसको डिजल भर्सनमा १.५ लिटरको इन्जिन जडान गरिएको छ जसले १०० पीएस पावर र २४० एनएम टर्क जेनरेटर गर्छ ।

मूल्य र फिचर्स : यो एसयूभीमा अटो क्लाइमेट कन्ट्रोल, रियर एसी वेट्स, हुन्डाईको ब्लुलिंक टेक्नोलोजी, वायरलेस मोबाइल चार्जिङ, क्रुज कन्ट्रोल, ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम तथा सनरूफ आदि फिचर उपलब्ध हुन्छ । सेफ्टी फिचर्सका रुपमा यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन आदि जडान गरिएको छ ।

-मूल्य : अन्तर्राष्ट्रिय बजारमा करिब ११ लाखदेखि १८ लाख रुपैयाँ ।
-माइलेज : १७ देखि २३ किलोमिटर प्रतिलिटर ।

प्रतिक्रिया