आइतबार, जेठ ६, २०८१

दुई अमेरिकी नागरिकले कुम्भकर्ण आरोहण गर्दै

नेपालखोज २०७८ असोज १४ गते ८:४२
ताप्लेजुङमा रहेको ७,७१० मिटरको उचाईमा रहेको कुम्भकर्ण हिमाल ।

ताप्लेजुङ । ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ ।

विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो ।

कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१० मिटर उचाइ) हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।

परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार यसै साताको शनिबारदेखि हिमाल आरोहण गर्ने योजनाका साथ तयारी भइरहेकोे छ । आरोहणका लागि बाटो बनाउने तथा आवश्यक सामग्री ओसार्ने काम भइरहेको शेर्पाले बताए ।

आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुगेको शेर्पाले जानकारी दिए । फक्ताङ्लुङ–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजङ्घा हिमाल प्रवेशद्वारका रुपमा लिने गरिएको छ ।

दुई अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत रु एक लाख ७६ हजार रोयल्टी रकमसमेत संकलन भएको छ ।

विभागका अनुसार दुई वर्षयताअर्थात् कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन् । तथ्यांकअनुसार २०१९ सालमा फ्रान्सका एक नागरिकले पहिलो पटक सो हिमालको सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया