कोभिड–१९ सम्बन्धी अडियो भिडियो अब नेपाली भाषामा
काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा उत्पादित “साइन्स इन फाइभ” अडियो तथा भिडियो श्रृखला अब नेपाली भाषामा पाँचमा विज्ञान पोडकास्टमार्फत सुन्न सकिने भएको छ ।
विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोभिड–१९ सम्बन्धी बिषयमाथि सरल भाषामा छलफल गर्ने यस श्रृखलालाई विश्व स्वास्थ्य संगठन नेपालले नेपाली भाषामा अनुवाद गरेको हो ।
कोभिड–१९ सम्बन्धी अफवाह र गलत समाचारहरु फैलिरहेको अवस्थामा इन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गरी यो पोडकास्टको प्रसारण सुरु गरिएको हो ।
यो पोडकास्टले नेपाली जनमानसमा व्याप्त अफवाहलाई चिर्न र सत्य सूचनाहरुमा मात्रै विश्वास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
पोडकास्टका नयाँ अंकहरु प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रसारण गरिने छन् । यहि असोज १५ गतेदेखि प्रशारण गरिने पोडकास्टको पहिलो अंकमा विश्व स्वास्थ्य संगठनकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीको समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाहरुले ध्यान दिनुपर्ने बिषयमा छलफल गर्ने छिन् ।
नेपाली समुदायमाझ पनि कोभिड– १९ सम्बन्धि महत्वपूर्ण जानकारीहरुको पहुँच पुर्याउने उद्देश्यले विश्व स्वास्थ्य संगठन नेपालले यस श्रृखलालाई नेपाली र मैथिली भाषामा अनुवाद गरी युट्युव च्यानल मार्फत पनि प्रसारण गर्दै आएको छ ।
प्रतिक्रिया