आइतबार, वैशाख २३, २०८१

‘बा-आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रम शुभारम्भ

नेपालखोज २०७८ असोज १५ गते ७:०५

ललितपुर । महालक्ष्मी नगरपालिकाले ३१औं अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार सो सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गरे । नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर प्रत्येक महिनाको एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा आदिजस्ता स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।

उपप्रमुख निर्मला थापाले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएकाले सम्हाल्दै अघि बढ्ने बताईन् । कार्यक्रममा सहभागी जेष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ हेमकुमारी विष्टसहित अन्य ३९ लाई सम्मान गरी सबैको स्वास्थ्य परीक्षणसहित औषधिसमेत वितरण गरिएको थियो ।

‘स्वच्छ, सफा, समृद्ध सुन्दर– महालक्ष्मी नगर’ भन्ने नाराका साथ नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सो कामलाई छिट्टै अघि बढाउने प्रतिबद्धताअनुरुप थालनी गरेको हो ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाने कूल दुई हजार २१० नागरिक रहनाका साथै निवृत्तिभरणको सेवा तथा सुविधासमेत लिने गरी करिब तीन हजार ज्येष्ठ नागरिक रहँदा मात्र ७० वर्ष कटेकाले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने जानकारी गराइएको छ ।

प्रतिक्रिया