मंगलबार, मंसिर २५, २०८१

वर्तमान सरकार बेहाल अवस्थामा रहेको ओलीको टिप्पणी

नेपालखोज २०७८ असोज १७ गते १८:५५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागि परेको आरोप लगाए । तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्ति समेत जनाए ।
अध्यक्ष ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दावी समेत गरे ।
अध्यक्ष ओलीले एमाले भित्र नेतृत्व स्थापित हुन नदिन विरोधीहरुले देवत्वकरणको हल्ला फिजाईरहेको दावी गरे । उनले आफूहरु कसैले पनि देवत्वकरण नगरेको तर नेतृत्वको वरीपरी पार्टी र आन्दोलनलाई एकीकृत गराउने काम गरिरहेको दावी गरे । अध्यक्ष ओलीले विरोधीहरु आफू बाँचेको र कार्यकर्ता र जनताले माया गरेकोमा चिन्तित भएको पनि बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वमा सरकार ढाल्न लाग्नेहरु सबै विरोधी भएको बताए । उनले विरोधीले गालामा थप्पड हान्दा पनि शाष्त्र पल्टाउने काम नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गरे ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिए ।

उनले दाहालले २ दिन अघि ०६४ को जस्तै जसरी पनि कब्जा गरेर चुनाव जित्ने भनिराखेको स्मरण गराउँदै त्यस्ता खालको धाँधलीका अगाडि आफ्नो पार्टी नझुक्ने पनि बताए ।

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासका लागि एमाले नेतृत्वको बहुमतको सरकार आवश्यक रहेको उल्लेख गर्दै सोही अनुसारको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रतिक्रिया