राष्ट्रियसभा बैठक : ४ विधेयक छलफलका लागि समितिमा
काठमाडौं । राष्ट्रियसभाले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बिच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ ।
राष्ट्रियसभाको सोमवार (आज) बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विरोध गरेको छ । नेकपा एमालेको विरोधका बीच बैठकले सरकारले पेश गरेको चारवटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । बैठकमा महालेखापरीक्षकको ५८ वार्षिक प्रतिवेदन २०७८ पनि टबल भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रिय सभाको बैठकमा निरन्तर बिरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन ।
एमालेले कारबाही गरेका १४ जना सांसदहरुको निस्कासनको सूचना सभामुखले नटाँसेका कारण सभामुखको विरोधमा एमाले आन्दोलित छ ।
प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले नाराबाजी सहित वेल घेराउ गर्छन भने राष्ट्रिय सभाको बैठकमा आफू बसेको स्थानमा उभिएर बिरोध जनाउने गरेका छन् ।
आजको बैठकमा राष्ट्रिय सभा सदस्य पार्वती रावलले सरकार गैर कानूनी रुपमा चलेको, प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्न नचाहेको तथा सभामुखको व्यवहार गैर संवैधानिक र दलीय स्वार्थ केन्द्रीत भएका कारण एमालेको विरोध जारी रहने बताए ।
यस्तै बैठकमा बोल्दै सांसद डा. खिमलाल देवकोटाले एक महिनादेखि संसदमा एमालेको अवरोधका कारण बोल्न नपाएको भन्दै सांसदहरुको मानव अधिकार हनन् भएको बताए । सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरु प्रयोग हुने गरेको भन्दै उहाँले नियमापत्ति जनाए ।
सांसद देवकोटाले अदालतमा विचाराधिन विषयमा बहस गर्न नपाउने र सभामुखको निर्णयमा प्रवेश गर्न नपाउने संवैधानिक र कानूनी व्यवस्था हुँदाहुँदै संविधान र कानूनको अपमान हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभामा कार्यहरु भइरहेको भन्दै त्यसको भत्सर्ना गरे ।
राष्ट्रिय सभाको अर्को बैठक असोज २४ गते आइतवार दिउँसो २ बजे बस्ने भएको छ ।
प्रतिक्रिया