उपत्यकामा दसैँ लक्षित खसी–बोका भोलिदेखि बिक्री वितरण गरिने
काठमाडौं । काठमाडौं उपत्यकामा दसैँ लक्षित खसी–बोका भित्रिन थालेको छ । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी–बोका किन्नेको भीड बढ्न थालेको हो ।
कोरोना संक्रमण फैलनु अघिका वर्ष झैँ पर्याप्त मात्रामा खसी-बोका नआएको कारण मूल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरु पर्याप्त नआए पनि खसी-बोकाहरु काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।
अघिल्ला वर्षहरुमा जिउँदो च्याङ्ग्रा ७, ८ सय रुपैयाँमा पाइने अहिले १३, १४ सय रुपैयाँ मूल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सिमावर्ति गाउँबाट पनि आउँछ । कोरोना संक्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य बढेको छ ।
काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी-बोका आउन थालेको छ । जिउँदो खसी-बोका सरदरमा ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँमा बिक्री भइरहेको व्यवसायीले बताएका छन् ।
काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडल पनि खसी-बोका बिक्री गर्दै आएको छ । कम्पनिले शुक्रवारबाट खसी-बोका बिक्री गर्ने बताइ सकेको छ । यस बाहेक फुलपातीको दिनदेखि काठमाडौंको चोकहरुमा किसान आफैँ आएर खसी-बोका बेच्ने गर्दछन् । काठमाडौंमा दसैँको बेला खसी-बोकाको मासु ११ लाख किलो भन्दा बढी खपत हुने अनुमान गरिन्छ ।
प्रतिक्रिया