मंगलबार, मंसिर १८, २०८१

आईपीओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी

नेपालखोज २०७८ असोज २२ गते १३:३९

काठमाडाैं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रूपैयाँ मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो ।

निष्कासन गरिने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहने छ लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी कात्तिक ४ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कार्तिक १८ सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालीका क्षेत्रमा पर्ने माई खोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत दुई अर्ब रूपैयाँ हुने र प्रतिमेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रूपैयाँ हुने जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् ।

साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्वबहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया