शुक्रबार, चैत १६, २०८०

कोभिडकै कारण आत्महत्या दर बढ्यो !

नेपालखोज २०७८ असोज २३ गते १२:५९

काठमाडौं । हरेक अक्टोबर १० तारिकका दिन विश्व मानसिक दिवस मनाइन्छ । यस दिन नेपालमा पनि दिवस मनाइने तयारी छ । कोभिड– १९ को विश्वव्यापी प्रभावले समग्रमा मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारेको तथ्य तथ्यांक, अध्ययन र अनुभवबाट हामी गुज्रिरहेका छौं ।

यतिबेला विश्व मानसिक दिवसको सन्दर्भमा देशभर सचेतता अभियान सञ्चालन भइरहेको छ । मानसिक स्वास्थ्य हामी सबैको साझा सवालको विषय हो । स्वस्थ जीवनको अभिन्न अंग हो । गत वर्ष देशव्यापी रूपमा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०७७ बाट प्राप्त तथ्यांकअनुसार मानसिक स्वास्थ्य समस्या जनस्वास्थ्य सरोकारको महत्त्वपूर्ण सरोकारको विषय हो । यसै विषयलाई मध्यनजर राख्दै तीनै तहको सरकारको समन्वय र सहकार्यमा हरेक नागरिकको मानसिक स्वाथ्यको विषयमा सचेतता वृद्धि गर्न असोज २० देखि २४ गतेसम्म देशव्यापी सचेतता अभियान सञ्चालन भइरहेको छ ।

के हो मानसिक स्वास्थ्य ?
मानसिक स्वास्थ्य भनेको स्वस्थ जीवनको एक महत्त्वपूर्ण आयाम हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वस्थ्यलाई रोग तथा अस्वस्थ नभएको अवस्थालाई मात्रै नभइ शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपले सन्तुलित अवस्था भनेर परिभाषित गरेको छ । त्यसैले स्वस्थ जीवनका लागि मानसिक रूपमा सवल, सक्षम र सन्तुलित रहनुपर्छ । व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्ने, जीवनका सामान्य तनावको व्यवस्थापन गर्न सक्ने र व्यवस्थित ढंगले काम गरी आफ्नो समुदायलाई योगदान दिन सक्षम रहने अवस्था मानसिक स्वस्थ रहेको अवस्था हो । यसले व्यक्तिको भावना, विचार, व्यवहारमा सन्तुलन रहेको अवस्थालाई बुझाउँछ । यही भावना, विचार र व्यवहारमा आउने परिवर्तन जुन निश्चित अवधिसम्म रहिरहन्छ र व्यक्तिको जिम्मेवारीको सम्बन्धमा नकारात्मक असर पुग्छ भने त्यो मानसिक स्वास्थ्य समस्या भएको अवस्था हो ।

जनस्वास्थ्य ऐन २०७५ ले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा र जनस्वास्थ्य नियमावली २०७६ को अनुसूची १ र २ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्यलाई समावेश गरेको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले मानसिक स्वास्थ्य सेवालाई जनस्वास्थ्य सेवामा एकीकृत गरी सबै तहमा विस्तार गर्ने रणनीति लिएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ ले मानसिक स्वास्थ्यमा सबैको समान पहुँच पुर्याउने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा आत्महत्या दर हालको २३ दशमलव ७ प्रतिएक लाख जनसंख्या प्रतिवर्षबाट घटाएर ४ दशमलव ७ प्रतिएक लाख जनसंख्या प्रतिवर्षमा सीमित राख्ने र मद्यपानलगायत लागुऔषधको नियन्त्रण, रोकथाम र प्रयोगकर्ताको उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्ने लक्ष्य लिएको छ । कोभिड–१९ विश्वव्यापी महामारीको सन्दर्भमा मानसिक स्वास्थ्य थप जोखिममा परेको तथा आत्महत्याको दर पनि उल्लेख्य रूपमा वृद्धि भएको पाइएको छ । यसै पृष्ठभूमिमा विश्व मानसिक स्वास्थ्य दिवस २०७८ को सन्दर्भमा नेपाल मानसिक सुु–स्वास्थ्य अभियान २०७८ सार्वजनिक भएको छ । र, यो हामी सबैको साझा अभियान पनि हो ।

के हो त मानसिक स्वास्थ्यमा आमधारणा ?
मानसिक स्वास्थ्यलाई व्यक्तिको जैविक, मनोवैज्ञानिक तथा सामाजिक पक्षले प्रभाव पार्छ । यो जनस्वास्थ्यको साझा सरोकारको विषय भएकाले यससँग नागरिक सचेतता अभिवृद्धि गर्नुपर्छ । स्वास्थ्य सेवाका हरेक तहमा एकीकृत गर्ने नागरिकको पहुँच वृद्धि गर्नुपर्छ । मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोगको रोकथाम, समयमै पहिचान, उचित व्यवस्थापन र आवश्यक पुनःस्थापनाका लागि सरकारी गैरसरकारी, निजी तथा व्यक्तिगत तहमा समेत आवश्यक समन्वय, सहकार्य र साझेदारी आवश्यक पर्छ । त्यसैले यस सन्दर्भमा तीनै तहका सरकारको निश्चित भूमिका छ । यो भूमिकामा हामीले बुझ्नुपर्ने विषय देशको संविधान, कानुन, नीति, रणनीति, कार्यक्रम, निर्देशिका, कार्यविधि, अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार सेवा प्रवाहमा तीनै तहको सरकार तत्पर रहँदै आवश्यक स्रोत पहिचान तथा परिचालन गर्नुपर्छ । मानसिक स्वास्थ्यका विषयमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच आवश्यक समन्वय, सहकार्य र साझेदारीको नेतृत्व लिनुपर्छ । यस सन्दर्भमा आमसञ्चार माध्यमको भूमिका पनि मुख्य रहन्छ । आमसञ्चारले देशको संविधान कानुन, नीति, रणनीति, कार्यक्रम निर्देशिका कार्यविधि तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषयमा राज्यलाई समयमै सचेत गराउँदै नागरिकहरूलाई पनि आफ्नो कर्तव्य र स्वास्थ्यबारे निरन्तर सचेतना फैलाउने जिम्मा लिनुपर्छ । हामी आमनागरिकको भूमिका पनि यसका लागि जिम्मेवार रहन्छ । त्यसैले आमनागरिकले आफ्नो, परिवारका सदस्यको, समाजका अन्य सदस्यको मानसिक स्वास्थ्यबारे सचेत रहँदै नेपाल मानसिक सु–स्वास्थ्य अभियान २०७८ मा सहभागी बन्नुपर्छ ।
(मानसिक अस्पताल लगनखेलका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीको भनाइमा आधारित)

प्रतिक्रिया