शुक्रबार, वैशाख ७, २०८१

विज्ञापनरहित एपहरू चलाउन अझै सहज वातावरण सिर्जना

नेपालखोज २०७८ असोज २३ गते १९:१४

काठमाडौं । अहिलेको प्रविधिको युगमा बालकदेखि वृद्धसम्म हात-हातमा मोबाइल भएकाले प्ले स्टोर, एप स्टोरजस्ता स्टोरहरूमा दैनिक हजारौँ एपहरू प्रकाशित भइरहेका छन्। यसले विश्वलाई नै स्मार्टफोनमा सीमित गरिदिएको अवस्था छ।

यसरी एप बनाउँदा लाग्ने खर्चहरू भने धेरैजसो एपहरूले विज्ञापनबाट उठाउने गरेका हुन्छन्। पेमेन्ट गेटवे, इ-कमर्स तथा कर्पोरेट सर्भिस कम्पनीहरूका एपले भने विज्ञापनमा भर पर्नु पर्दैन। छुट्टै आयश्रोत मोडल रहेको हुन्छ। तर, त्यसो भनी रहँदा कम्युनिटी एप्सहरूले चाहिँ अहिलेसम्म पनि विज्ञापनमा नै भर पर्नुपरेको छ।

विदेशमा भने कम्युनिटी एप्सहरूले सब्सक्रिप्सन मोडलमा गई प्रयोगकर्ताहरूलाई सुविधा दिइरहेका छन्। यसरी समयको अन्तरालसँगै परिवर्तित परिपेक्षमा परिदृश्यहरू परिवर्तन हुँदैछन्। विदेशमा प्रकाशित एपहरू एउटै एप फ्रिमा विज्ञापनसहित वा सब्स्क्राइब गरी विज्ञापनरहित तरिकाले चलाउन सकिन्छ।

नेपालमा पनि यो मोडलमा रहेर धेरै एपहरू आइरहेका छन्। यसको एउटा उदाहरण हो नेपाली पात्रो एप। नेपालमा नेपाली पात्रो एपले पहिलो पटक यो सुविधा सार्वजनिक गरेको थियो, जसमा जम्मा रू. १०० मा नै विज्ञापनरहित नेपाली पात्रो एक वर्षसम्म चलाउन सकिन्छ।

नेपाली पात्रोका प्रमुख सम्पादक उप-प्राध्यापक लक्ष्मी प्रसाद बराल भन्छन्, ‘पहिला पहिलाको समय फरक थियो। हामीले नेपाली पात्रोमा विज्ञापनमा मात्र आधारित भएर चलाउने गर्थ्यौ। यसै पनि नेपाली दाजु-भाइ तथा दिदी बहिनीहरूले पञ्चाङ्गलगायत पात्रो किन्नका लागि स्टेशनरी धाउनु नै पर्थ्यो। तर अहिले भने सो सुविधा मोबाइलमा पनि पाउन सकिन्छ। र, यो सुविधा नेपाली पात्रोमा अझै सम्म पनि सित्तैमा नै पाइन्छ। तर, पछि प्रयोगकर्ताहरूको “धेरै विज्ञापन आयो” भन्ने गुनासो सम्बोधन गर्दै हामीले यस एपलाई विज्ञापन रहित बनाउने जमर्को गर्यौँ। र यसरी हामीले पनि विदेशमा जस्तै नेपालमा पनि सब्स्कृप्सन सुविधा सुरु गर्‍यौं।’

उनी थप्छन्, ‘पहिला पहिला त हामीलाई खासै विश्वास लाग्दैन थियो कि नेपालमा पनि यो तरिकाले मान्छेहरूले “अनलाइन पे” गरेर विज्ञापनरहित एप चलाउँछन् भनेर। तर, हामी गलत रहेछौँ। यही नेपालमा पनि नेपाली पात्रोमा धेरै नै प्रयोगकर्ताहरूले यो सुविधा लिइराख्नुभएको छ र उहाँहरुले यो सुविधाको धेरै नै राम्रो टिप्पणीसमेत गर्नुभएको छ।

विज्ञापनरहित एप तुलनात्मक रूपमा “पहिलो भन्दा एकदमै छिटो तथा छरितो” हुने महसुस गरेको भनेर प्रयोगकर्ताहरूले टिप्पणी गरिराख्नु भएको छ। त्यही कारण हामीले यसलाई अझ प्रोत्साहन गर्नका लागि दसैँ अफर पनि लिएर आएका छौँ। र, त्यस अनुसार मात्र रु.१०० तिरेर १ वर्षको सब्सकृप्सन लिँदा १ महिना फ्रि अर्थात् १३ महिना गरिदिएका छौँ। त्यसपछि त झनै धेरै प्रयोगकर्ताहरूले यो सुविधा लिनुभएको छ। हामी गलत रहेछौ। हो, समय धेरै परिवर्तन भई सकेको रहेछ। अहिले नेपाली प्रयोगकर्ताहरूका लागि मात्र यो सुविधा छ, चाँडै नै विदेशका प्रयोगकर्ताहरूका लागि पनि यो सुविधा हामी उपलब्ध गराउँदैछौँ। ”

त्यस्तै नेपाली विकासकर्ताहरूले विकास गरेका विभिन्न एपहरूमा पनि यो सुविधा उपलब्ध हुनुका साथै भविष्यमा नेपाली प्रयोगकर्ताहरूले विज्ञापनरहित एपहरू चलाउन अझै सहज वातावरण सिर्जना हुनेछ।

प्रतिक्रिया