प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुन्छ : देउवा

नेपालखोज २०७८ असोज २४ गते १४:१०
तस्विर रासस

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन् ।
साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् ।

उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । उनले देशमा छिटो छरितो विकासका कामहरु अघि बढाउन बाँकी रहेको बताए ।

प्रधानमन्त्री देउवाले जनताले भोटबाट प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको पुष्टि गर्ने बताए । प्रधानमन्त्री देउवाले नेपालको कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताए ।

उनले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकहरुलाई भिसा दिएको बताए । उनले नेपालले पूर्ण रुपमा कोरोना नियन्त्रण गर्न नसकेपनि क्रमिक रुपमा नियन्त्रण गर्न सरकार सफल भएको बताए ।

प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दैै शिक्षा आम नागरिकको मौलिक हक भएको बताए । उनले शैक्षिक व्यवस्थापनमा समयानुकुल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको बताए ।

उनले साक्षरताको लागि निरक्षर र साक्षरको तथ्यांक यकिन गरेर तदनुरुप थप कार्यक्रम सञ्चालन सरकारले गरिरहेको बताए ।

प्रतिक्रिया