शुक्रबार, जेठ ४, २०८१

भारतमा कोरोना संक्रमितकाे संख्या घट्याे

नेपालखोज २०७८ असोज २४ गते १४:४१


काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितकाे संख्यामा कमी आएको छ । दैनिक संक्रमितको यो संख्या २१४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

अघिल्लो दिन १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १८ हजार १६६ जना नयाँ संक्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ संक्रमित थपिने गरेको जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या पनि सात महिना पछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार भारतमा अहिले २ लाख ३० हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् । अघिल्लो दिन भने दुई लाख ३६ हजार ६४३ जना रहेका मन्त्रालयका अधिकारीले जनाएका थिए ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण २०८ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाको कारण मृत्यु हुने ४ लाख ५० हजार ५८९ जना पुगेको छ ।

भारतमा पछिल्लो समयमा दैनिक संक्रमणमुक्त भएकाको संख्या बढ्दै गइरहेको र नयाँ थपिने संक्रमितको संख्या घट्दै गएकाले सक्रिय संक्रमितको संख्या पनि कम हुदै गएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएकाको संख्या २३ हजार ६२४ रहेको छ । भारतमा अहिलेसम्म ३ करोड ३२ लाख ७१ हजार ९१५ जना कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । भारतका हिजो एकै दिनमा ६६ लाख ८५ हजार ४१५ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतमा हालसम्म ९४ करोड भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया