शुक्रबार, मंसिर २८, २०८१

धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना

नेपालखोज २०७८ असोज २४ गते १६:०८

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्यहरुले माइतीघरमा धर्ना दिएका हुन् ।

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना सुरु गरेको छ ।

धर्नामा बसेकी स्थानीय आप्दा धोबीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताए । उनले काठमाडौं आइसकेको ५ दिन बितिसक्दा समेत आफूहरुको माग सुनुवाइ हुन नसकेको बताए ।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुठो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको बताएका छन् ।

उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् ।

पीडित कुर्मी र धोबीको हत्यापछि बाँकेमा न्याय नमिलेको भन्दै असोज १ गते पीडित परिवारका सदस्यहरु काठमाडौंका लागि पैदल हिँडेका थिए ।

प्रतिक्रिया