विश्वका १ अर्ब ६० करोडभन्दा बढी बालबालिका शिक्षा पाउनबाट वञ्चित

नेपालखोज २०७८ असोज २४ गते १९:५३

काठमाडौं । युवाहरूमा हुने मानसिक समस्याका कारण अर्थतन्त्रमा हरेक वर्ष करिब ३ खर्ब ९० अर्ब डलर नोक्सानी हुने गरेको युनिसेफले विश्लेषण गरेको छ । बालबालिका र युवाहरूले मानसिक स्वास्थ्यमा कोभिड–१९ को असर धेरै वर्षसम्म महसुस गर्ने युनिसेफले आइतबार प्रतिवेदनमा चेतावनी दिएको छ ।

२१औं शताब्दीमा बालबालिका, किशोरकिशोरी र हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्यका बारेमा युनिसेफले अहिलेसम्म गरको विश्लेषण ‘विश्वमा बालबालिकाको अवस्था २०२१; मेरो दिमागमाः बालबालिकाको मानसिक स्वास्थ्यको प्रवद्र्धन, सुरक्षा र हेरचाह’ अनुसार कोभिड १९ भन्दा पहिलेदेखि नै यो विषयलाई सम्बोधन गरेर खासै कुनै महत्वपूर्ण लगानी नभएकाले बालबालिका र युवाहरूले मानसिक स्वास्थ्य सम्बन्धि अवस्थाको बोझ उठाउँदै आएका छन् ।

युनिसेफको पछिल्लो विश्लेषणअनुसार विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथ बाँचिरहेका छन् । शीर्ष पाँच कारणहरु मध्ये एक रहेको आत्महत्याबाट प्रत्येक वर्ष करिब ४६ हजार किशोरकिशोरीहरूको मृत्यु हुने गरेको छ ।
मानसिक स्वास्थ्य सम्बन्धी आवश्यकताहरू र मानसिक स्वास्थ्य कोषबीच ठुलो अन्तर छ । प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा सरकारी स्वास्थ्य बजेटको करिब २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ ।

कोभिड–१९ को समयमा बालबालिकाको मानसिक स्वास्थ्य
वास्तवमै, महामारीले बालबालिकाको मानसिक स्वास्थ्यमा धेरै असर पारेको छ । युनिसेफ र ग्यालपद्वारा २१ देशहरूमा संचालित बालबालिका र वयस्कहरूको एक अन्तर्राष्ट्रिय सर्वेक्षणको प्रारम्भिक निष्कर्ष र द स्टेट अफ द वर्ल्ड्स चिल्ड्रेन २०२१ मा गरिएको पूर्वावलोकनमा १५–२४ वर्ष उमेर समूहका ५ युवा मध्ये १ को मध्यस्थले प्रायःजसो निराश महसुस भएको वा जुनसुकै काम गर्नमा पनि कम रुचि भएको कुरा व्यक्त गरेका छन् ।

कोभिड १९ ले तेस्रो वर्षमा प्रवेश गरेसँगै बालबालिका र युवाहरूको मानसिक स्वास्थ्य र भलाइमा ठूलो प्रभाव पर्ने क्रम जारी छ । युनिसेफको पछिल्लो उपलब्ध तथ्याङ्कअनुसार, विश्वव्यापी रूपमा ७ जनामध्ये कम्तिमा १ जना बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने १ अर्ब ६० करोड भन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् ।

अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरन्जन, साथसाथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाहरूले गर्दा धेरै युवाहरूले डर, क्रोध र आफ्नो भविष्य प्रति चिन्ता महसुस गरिरहेका छन् ।

सुरक्षात्मक तत्वहरू
प्रतिवेदनका अनुसार वंशानुगत, जीवनका प्रारम्भिक दिनहरूमा पाएका अनुभव र पर्यावरणीय तत्वहरूको मिश्रण, अभिभावकत्व, विद्यालयको शिक्षा, सम्बन्धहरूको गुणस्तर, हिंसा वा दुर्व्यवहारको जोखिम, भेदभाव, गरिबी, मानवीय संकट र कोभिड–१९ जस्ता स्वास्थ्य सम्बन्धि आपत्कालिन समस्याहरूले बालबालिकाको मानसिक स्वास्थ्यमा जीवनभर प्रभाव पार्दछ ।

नेपालमा आत्महत्याको विचारले पीडित भएर मनोवैज्ञानिक हेल्पलाइनहरूमा कल गर्ने मध्ये २० प्रतिशत लैंगिकतामा आधारित हिंसासँग सम्बन्धित छन् भने २५ प्रतिशत आर्थिक अभावसँग छन् ।

रिपोर्टका अनुसार, मायालु हेरचाहकर्ताहरू, विद्यालयको सुरक्षित वातावरण र साथीहरूबीचको सकारात्मक सम्बन्धले मानसिक समस्याको जोखिमलाई कम गर्नमा मद्दत गर्न सके तापनि लान्छना र अप्रयाप्त आर्थिक सहयोग जस्ता बाधाहरूका कारण धेरै बालबालिकाले सकारात्मक मानसिक स्वास्थ्य वा उनीहरूलाई चाहिने सहयोगको पहुँच अनुभव गर्नबाट बन्चित भएका छन् ।

प्रतिक्रिया