बिहीबार, चैत १५, २०८०

डलर !

रामचन्द्र भट्ट २०७८ असोज २५ गते ५:०२

यो एक डलरको नोट अमेरिकाको सबैभन्दा सानो मूल्य अंकित प्रिन्टेड मुद्रा हो । यो भन्दा कम मूल्यको मुद्रा सिक्कामा मिन्ट हुने गर्छ । अमेरिकामा नोटको सट्टा ‘बिल’ भनेर पनि यसलाई चिनिन्छ । अमेरिकी डलर मूल्यका हिसाबले संसारकै सबैभन्दा दह्रो मुद्रा त होइन । केही खाडी मुलुकका रियाल, ब्रिटिस पाउन्ड र युरोको क्रयशक्ति वा भाउ डलरभन्दा माथि छ ।

तर पनि डलर यस्तो मुद्रा हो-यो सर्वस्वीकार्य (सबै देशले लिने) छ । अन्तर्राष्ट्रिय व्यापारमा मात्र होइन विदेशी विनिमय (फरेक्स एक्सचेन्ज रेट) का लागि डलर नै बेन्चमार्क मुद्रा हो । डलरमै आधारित रहेर संसारभरका मुद्राहरुको परिवर्त्य दर निर्धारण हुन्छ । कुन देशको इकोनमी माथि चढ्यो र कसको गिर्‍यो भनेर जाँच्ने आधार पनि डलरमै हो । डलर सञ्चिति कति छ र त्यसले वस्तुको आयातलाई कति थेग्न सक्छ भनेर तथ्यांक केलाएर अर्थतन्त्रको मापन गरिन्छ ।

संसारका कमजोर इकोनमी भएका केही देशमा यो एक डलरले ती देशका मुद्रा कति सटही गर्न सकिन्छ त ? आउनुस् एकै छिन यो रमाइलो तथ्य पढौँ । अर्थात् तपाईं-हामी एक डलर लिएर साट्न गयौँ भने ती देशका मुद्रा कति पाइन्छ त ?

१) $१= भेनेजुएलन बोलिभार ४,१६,६९३.५२
२) $१= इरानी रियाल ४२,१९०
३) $१= भियतनामी डोंग २२,७५८
(भियतनाममा बैंक नोटको सानो इकाइ १००० बाट सुरु हुन्छ र ५ लाख डोंगसम्म हुन्छ ।)
४) $१= इन्डोनेसिएन रुपिहा १४,१९८
५) $१= उज्बेकिस्तानी सोम १०,६६९
६) $१= सिरियालियोनी लियोन १०,५९५
एक डलरको सटहीमा पाँच अंकभन्दा तल चार अंकका मुद्रा पाइने देश दर्जनभन्दा बढी छन् ।
-भियतनाम र इन्डोनेसियाको इकोनमी हरितन्नम त छैन । ती देशले बडो कुटिल चाल चलेर आफ्नो देशको मुद्रालाई पटक-पटक ‘डिभ्यालु’ गर्दै आएका छन् । कारण-विदेशी लगानीकर्तालाई आकर्षित गर्न र निर्यात बढाउन यस्तो खालको मोनिटरी टुल्सको प्रयोग गर्दै आएका छन् ।

सन् १९९० को सुरुवातताका रुसी रुबलको भाउ (क्रयशक्ति) यति क्षीण भएको थियो कि बोराभरी नोट बोकेर जाँदा पनि एउटा पाउरोटी किन्न पुग्दैनथ्यो । अहिले भेनेजुएलाको हालत त्यही छ ।

मुद्रा बजारमा एउटा भनाइ छ- मुद्रास्फीतिले गाँजेका वा मुद्राको मूल्य नभएका देशहरुले जे जति फेसभ्यालु (अंकित मूल्य) का नोट छाप्छन् त्यो छापिएको कागजको भाउ पनि उठ्दैन ।

अब अन्तिममा यो पनि लेखिहालौं- यति बलियो एक डलरको बिल प्रिन्ट गर्नचाहिँ ५.५ सेन्ट खर्च हुने गर्छ । अर्थात् एक डलरको बिल जारी गर्दा फेडरल रिजर्भलाई ९४.५ सेन्ट नाफा हुन्छ ।

-लेखक भट्ट आर्थिक पत्रकारसमेत हुन् । हाल उनी अमेरिकामा बसोबास गर्छन् । हामीले यो सामग्री उनकै फेसबुकबाट लिएका हौं ।

प्रतिक्रिया