बिहीबार, चैत १५, २०८०

पहिले बेलायतको दास, अहिले विश्वकै शक्तिशाली

नेपालखोज २०७८ असोज २६ गते १४:१४

न्युयोर्क । अमेरिका एकातिर आजभोलि सैनिक तथा युद्धको दृष्टिकोणले विश्वमा शक्तिशाली छ । अर्कातिर आर्थिक रूपमा पनि विश्वको सवैभन्दा शक्तिशाली राष्ट्र मानिएको देश हो । यस देशको जीडीपी २० ट्रिलियन डलर पुगेको छ । भारतको तुलनामा यस देशको जीडीपी लगभग सात गुणा र चीनको तुलनामा लगभग डेढ गुणा बढी छ ।

यस मुलुकमा जीडीपी बढी हुनुका कारणहरूमा स्वतन्त्र पुँजीवाद बजार, आविश्कार र प्रविधिको विकास हुन् । यी तीनवटा पक्ष अमेरिकाको आर्थिक विकासका मुख्य आधार हुन् । प्राकृतिक स्रोत र जमिन पनि अमेरिकाको आर्थिक अवस्था वृद्धि गर्ने प्रमुख पक्ष हुन् ।

अमेरिका कसरी कसरी ‘आर्थिक शक्तिको घर’ का रूपमा उदायो भन्ने सवाल चर्चाको विषय हो । अमेरिकाको प्रगतिपथको कथा सन् १७७६, जुलाई ४ तारिखबाट सुरु हुन्छ । यो दिन अमेरिका स्वतन्त्र तथा सार्वभौम राष्ट्रको रूपमा उदाएको थियो । बेलायतको उपनिवेशवादबाट मुक्त भएको थियो ।

अस्थिर राजनीति प्रणालीबाट देशको द्रुत विकास हुने सम्भावना एकदम कम हुन्छ । अमेरिका स्वतन्त्र भएपछि अस्थिर राजनीतिको ढोका पनि बन्द भयो र विकासले क्रमशः फड्को मार्दै गयो । स्वतन्त्र भएपछि यस मुलुकका संस्थापक नेताहरूले सिर्जना गरेको उचित राजनीतिक प्रणाली नै आर्थिक क्रान्ति हुने प्रमुख पक्ष मानिन्छ । अमेरिकामा राजनीतिक तथा आर्थिक विकासको सुरुवात सामान्य प्रजातान्त्रिक परिपाटीबाट भएको थियो । विस्तारै सशक्त अर्थात् विश्वले नै तारिफ गर्ने शक्तिशाली प्रजातान्त्रिक देश बनेको छ ।

संयुक्त राज्य अमेरिका एक शक्तिशाली, लचिलो र बलियो लोकतान्त्रिक राज्य हो । यो राष्ट्रपति शासन प्रणालीअन्तर्गत देशमा राजनीतिक स्थिरता सुनिश्चित गर्न सफल राष्ट्र मानिन्छ । अमेरिकाले बारम्बारको गृहयुद्ध, सैनिक कू र सर्वसत्तावाद नहुने किसिमको राजनीतिक प्रणालीको विकास गरेर व्यवहारमा लागु गरेको छ । यस मुलुकले अँगालेको राष्ट्रपति व्यवस्थाले संसदीय व्यवस्था वा संसदबाट चुनिएको प्रधानमन्त्रीभन्दा चाँडो निर्णय गर्ने क्षमता राख्छ ।

संसदीय व्यवस्थामा निर्णय गर्ने क्षमता कमजोर हुने, ढिलो हुने र समग्र विकास निर्माणमा असर गर्ने महसुस गर्दै अमेरिकाले राष्ट्रपतीय शासन प्रणाली लागु गरेको हो । यस देशको विकास नीति जोसुकै राष्ट्रपति भए पनि एउटै छ । एक राष्ट्रपतिको शासनकालमा बनाइएको विकास नीतिको कार्यान्वयन अन्य राष्ट्रपतिले पनि लागु गरेका छन् ।

नेपालमा बहुमत ल्याउने दलले पनि छोटो समय मात्र सरकार सञ्चालन गरेको उदाहरण छ । फेरि बेलाबेला संयुक्त गठबन्धनको सरकार बन्ने गरेको छ । परिणामस्वरूप नेपालको अस्थिर राजनीतिले सम्रग आर्थिक वृृद्धिमै असर गरेको छ । छिमेकी देश भारतको हालत पनि अस्थिर राजनीतिमा जकडिएको छ । संसदीय व्यवस्था प्रणाली भएका नेपाल, भारतलगायत विश्वका केही देशहरूमा अस्थिर राजनीति अवस्था छ । देशको अस्थिर राजनीतिले हरदम आर्थिक वृद्धिको मार्गमा असर गरेको छ ।

यता राष्ट्रपति शासन भएको अमेरिकामा राजनीति प्रणाली स्थिर छ । सत्तामा रहेका शीर्ष नेताले पद छाडे वा मृत्यु भएमा यहाँको राजनीति र आर्थिक क्षेत्रमा कुनै पनि असर गर्दैन । उदाहरणका लागि पटकपटक गरेर आठजना राष्ट्रपतिको कार्यरत भएकै बेला मृत्यु भयो । यो अवस्थामा उपराष्ट्रपतिले कार्यालय सञ्चालन गरे । उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने काम राजनीतिक अस्थिरताबाट बच्न गर्ने गरिन्छ ।

उता युरोपियन समाजमा स्वतन्त्रता, समानता र भाइचाराको विकास त भयो, तर एकदमै ढिलो भयो । शासनमा उतराधिकारीयुक्त सामन्ती प्रणाली यसको प्रमुख कारण हो । सामन्ती प्रणालीको कारण युरोपमा औद्योगिक क्रान्तिको प्रभाव गरिब जनतासम्म पुग्न सकेन । यसले सामाजिक गतिविधिमै प्रभाव पार्यो । लामो समयसम्म एउटै व्यक्तिका सन्तान शासनमा रहेका कारण युरोपियन देश फ्रान्स, बेलायत, अस्ट्रेलिया, क्यानडालगायतमा प्रभावकारी औद्योगिक क्रान्ति हुन सकेन ।

तर, अमेरिकाको स्थापित प्रजातन्त्रले मुख्यतः शिक्षित मध्यमवर्गको प्रतिनिधित्व गथ्र्यो । अमेरिकाका मानिसमा प्रजातान्त्रिक मूल्य गहिरो रूपमा थियो । विशेषगरी व्यापारी र विभिन्न पृष्ठभूमिमा बसोबास गर्ने मानिसहरू थिए । राष्ट्रपति प्रणाली र मध्यमवर्गका विभिन्न पृष्ठभूमिका मानिसहरूको झुन्डले अमेरिकामा काम गर्नेहरू अझ उत्प्रेरित भए । प्रोत्साहनले हरेक नयाँ अविष्कारलाई जन्म दिन्छ, यस देशमा यही भयो । एक उत्प्रेरित समुदाय अमेरिकाको विकासका लागि बरदान साबित भयो ।

आजभोलिको जस्तो अमेरिका केही दशकअघि सम्म थिएन । एक समय यो देश ब्रिटिस साम्राज्यको दास झैं थियो, पूरै देश गरिबीमा बाँचिरहेको थियो । तर केही नभएको गरिब मुलुक केही दशकपछि विश्वकै शक्तिशाली देश बन्दा भने आश्चर्यको विषय भएको छ ।

अमेरिकाको विकास नीति जोसुकै राष्ट्रपति भए पनि एउटै छ । एक राष्ट्रपतिको शासनकालमा बनाइएको विकास–नीतिको कार्यान्वयन अन्यले पनि लागु गरेका छन् ।

आजको अमेरिका र क्यानडाको मुख्य भूमिमा आदिवासी बसोवास गर्थे, जसलाई आजकल ‘रेड इन्डियन’ भन्ने गरिन्छ । सन् १४४२ मा कोलम्बसले अमेरिका पत्ता लगाए । कोलम्बसले भारत देशको खोजी गर्ने क्रममा संयोगवश अमेरिका देश पत्ता लगाएका थिए ।

विभिन्न देशहरूले अमेरिकामा उपनिवेश कायम गरेको विश्वको इतिहासमा उल्लेख छ । बेलायतलेचाहिँ अमरिकामा धेरै वर्षसम्म शासन गरेको थियो । बेलायतबाट स्वतन्त्र भएपछि अमेरिकाले पहिलो राष्ट्रपति जर्ज वासिंटनलाई पायो । जर्ज वासिंटन राष्ट्रपति हुँदा अमेरिकामा गरिबी थियो । विश्व राजनीतिमा उसको भूमिका थिएन । आब्राहम लिंकनलगायत केही दूरदर्शी नेताहरूले सत्ता सम्हाले । उनीहरूले देशको विकास हुने किसिमको उपयुक्त आर्थिक नीतिलाई अघि बढाए ।

अमेरिका देशको भाग्य चम्काउनेवाला घटना पहिलो विश्वयुद्धलाई लिनुपर्छ । पहिलो विश्वयुद्धका वेला विश्वका सबैभन्दा प्रसिद्ध उद्योगहरू युरोपमा थिए । पूरै विश्वमा महँगा एवं महत्त्वपूर्ण सामान युरोपबाट निर्यात गरिन्थ्यो । तर पहिलो विश्वयुद्धका क्रममा युरोपका सबै देश आर्थिक रूपमा टाट पल्टिए । बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत देशका धेरै उद्योगधन्दा बन्द भए । व्यापार व्यवसाय चौपट भयो । पहिलो र दोस्रो विश्वयुद्धका कारण युरोपको आर्थिक अवस्था यति चौपट भयो कि उनीहरूले कुनै आर्थिक नीति बनाउन पनि हिम्मत गरेनन् । तर अमेरिकामा पहिलो र दोस्रो विश्वयुद्धको खासै प्रभाव परेन ।

युद्ध लड्दा युरोपमा उद्योगधन्दा तथा व्यापार–व्यवसाय चौपट भएको थियो । तर अमेरिकामा युद्धको समयमा पनि आर्थिक वृद्धि हुँदै गयो । युद्धपछि विश्वमा अमेरिकाले विभिन्न देशमा आफ्नो उत्पादनजन्य सामग्री पठाउन सुरु गर्यो । उद्योग–कलकारखाना सञ्चालनबाट अमेरिका विश्वकै आर्थिक रूपमा सम्पन्न राष्ट्र हुँदै गयो र अहिलेसम्म पनि छ ।
उद्योगमा उत्पादित सामान विश्व बजारमा पुग्नु अमेरिका आर्थिक रूपमा शक्तिशाली हुने प्रमुख कारण हो । यस देशको डलरले विश्व मुद्राको मान्यता पाउनु दोस्रो कारण हो । विश्वमा पैसाको ९० प्रतिशत लेनदेन अमेरिकी डलरमा हुने गर्छ । जुनसुकै देशको मुद्रा अमेरिकी डलरबाटै कारोबार हुने गर्छ । दोस्रो विश्वयुद्ध अन्तिम चरणमा भएका बेला अमेरिकी डलरको विश्व लेनदेन सन् १९४४ मा सुरु भएको हो ।

पहिलो र दोस्रो विश्वयुद्धका कारण विश्वका प्रायः सबै देशहरू टाट पल्टिएका थिए । जुन देश आर्थिक रूपमा टाट पल्टिएका थिए, सुरुमा उनीहरूलाई आर्थिक अवस्था कसरी सुधार गर्ने भन्ने चिन्ता थियो । उता प्रगति पथमा लम्किँदै गएका बेला अमेरिकाले सन् १९४४ मा अन्तर्राष्ट्रिय सम्मेलन आह्वान गर्यो । यस सम्मलेनमा विश्वका प्रायः सबै देशका प्रतिनिधि भेला भए । सम्मेलनमा विश्वकै पहिलो ठूलो निर्णय समेत गरियो । अमेरिकाको नेतृत्वमा आईएमएफ र विश्व बैंक स्थापना गर्ने निर्णय यस सम्मेलनमा पारित गरियो ।

आईएमएफ र विश्व बैंकमा कारोबार गरिने सबै मुद्रा अमेरिकी डलरमा गरिने विश्व सम्मेलनमा निर्णय गरिएसँगै अमेरिकालाई आर्थिक विकास गर्न अझ टेवा मिल्यो । बेलायतले समर्थन गरेपछि अमेरिकी डलर विश्वको साझा मुद्राका रूपमा विकास गरिएको छ ।

यस्तै अमेरिकाले खाडी राष्ट्रमा उत्पादन हुने कच्चा तेलको कारोबारमा पनि हात हाल्यो । कच्चा तेलको डलरमा कारोबार गर्न खाडी राष्ट्रलाई सहमत गराएपछि अमेरिकाको व्यापार अझै फस्टाउँदै गयो । अमेरिकाको आर्थिक वृद्धिमा थप टेवा पुग्यो ।

अमेरिका आर्थिक रूपमा प्रविधिको विकासमा पनि सबैभन्दा अगाडि छ । प्रविधिको भरपूर विकास पनि यो देश आर्थिक रूपमा सम्पन्न हुनुको प्रमुख कारण हो । प्रविधिको भरपूर प्रयोग गरेर द्रुतरूपमा विकास गर्न अमेरिकाले अथक प्रयास जारी राखेको छ । विश्व हाँक्ने कम्पनीहरू, विश्वको प्रसिद्ध एजेन्सी नासा, प्रमुख अन्तर्राष्ट्रिय संघ–संस्थाहरू अमेरिका मातहतमा छन् ।

यस देशको विकासमा टेवा पुग्ने अर्को पक्ष हो, जनशक्ति । अमेरिकाले विश्वका दक्ष प्राविधिक र बुद्धिजीवीलाई भित्र्याएर विभिन्न विकास निर्माणको काममा व्यस्त बनाएको छ । बाह्य जनशक्तिले पनि यस देशमा प्रविधिको विकास गरिरहेका छन् । बाह्य जनशक्तिको प्रविधियुक्त काम पनि आर्थिक विकासमा रूपान्तरण हुँदै गएको छ ।

प्रतिक्रिया