शनिबार, वैशाख ८, २०८१

किन घट्दै छ पुरुषको उचाइ ?

नेपालखोज २०७८ असोज २६ गते १६:०९

काठमाडौं । मानिसको उचाइअनुसार उसको शारीरिक बनोट र आकर्षणको तारिफ गर्ने गरिन्छ । सबै आमाबुबाको चाहना पनि आफ्ना छोराछोरी अग्लो होस् भन्ने हुन्छ । तर होचा व्यक्तिले प्रतिभाशाली हुने गरेका धेरै उदाहरण छन् । धेरै होचो र अग्लोभन्दा सन्तुलित अग्लाइ र होचाइलाई आममानिसले मन पराउने गरेका छन् । तर पछिल्लो समय केही देशका मानिसको उचाइ केही सेन्टिमिटर बढेको र केहीको भने घट्दै गएको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

छिमेकी देश भारत विश्वको सात अर्ब जनसंख्यामध्ये एक अर्ब जनसंख्या ओगटेको देश हो । भारतको स्वास्थ्य अनुसन्धानले नागरिकको उचाइ घट्दै गरेको जनाएको छ । नेपाल र भारतको प्रायः शरीर र अग्लाइ पनि मिल्ने भएकाले नेपालमा यसको अनुसन्धान गरे पनि समान समस्या हुने देखिन्छ । भारतका नागरिकको उचाइ घटेको अनुसन्धानबाट पत्ता लाग्नु भनेको नेपालीहरूको पनि सोही समस्या हुनसक्ने केही स्वास्थ्यकर्मीहरू बताउँछन् ।

पीएओएस वन नामको साइन्स जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार भारतका मानिसको औसत अग्लाइ घट्दै गएको छ । सन् २००५ मा गरिएको नेसनल फ्यामिली हेल्थ सर्भेको आँकडाको तुलनापछि यो दाबी गरिएको हो । यस रिपोर्टअनुसार पुरुषको तुलनामा महिलाको औसत अग्लाइ तीव्र रूपमा घटिरहेको छ ।

अर्कातिर धनी र गरिब परिवारको उचाइमा फरक परेको देखिएको छ । अध्ययनअनुसार गरिब परिवारकी महिलाको उचाइ २ सेन्टिमिटर कम छ भने धनी परिवारका महिलाको औसत अग्लाइ २ सेन्टिमिटरभन्दा माथि छ । तर गरिब परिवार वा धनी परिवारका पुरुषको उचाइमा भने कुनै फरक छैन । पुरुषको औसत लम्बाइमा एक सेन्टिमिटरको कमी आएको छ । भारतमा सन् २००५ देखि भने औसत उचाइ घटेको पाइएको हो ।

वैज्ञानिकहरूले मानिसको उचाइ नबढ्नुको प्रमुख कारणमा पोषणको कमीलाई लिएका छन् । तर एकाधमा पर्याप्त पोषण भए पनि उचाइ कम भएको उदाहरण छन् । भारतमा महिलाको औसत उचाइ ५ फिट १ इन्च मान्ने गरिन्छ भने पुरुषको ५ फिट ४ इन्च मान्ने गरिएको छ । केही अनुसन्धानहरूले भारतमा पुरुषको औसत उचाइ ५ फिट ८ र महिलाको ५ फिट ४ इन्च भएको जनाएका छन् ।

भारतको नेसनल फ्यामिली हेल्थ सर्भिसका अनुसार मेघालय, सिक्किम, अरुणाञ्चल र झारखण्ड प्रदेशका पुरुषको उचाइ विश्वकै पुरुषहरूको तुलनामा कम छ । यस्तै बिहार झारखण्ड, त्रिपुरा र मेघालयमा महिलाको उचाइ विश्वमै होचो छ । जम्मुकाश्मीर, पन्जाब, हिमाचल र केरलाका मानिसको औसत उचाइ विश्वका ३० देशको औसतभन्दा बढी छ । यस्तै पन्जाब, हरियाणा र केरलाका महिलाको उचाइ विश्वका ४० देशका महिलाको औसतभन्दा धेरै छ ।

मानिस अग्लो र होचो हुनुको कारण खोज्दै वैज्ञानिक

विश्वका विभिन्न अध्ययनअनुसार विश्वमा मानिसको उचाइ १५० वर्ष अघिदेखि बढेको पाइएको छ । चीन, जापान, दक्षिण कोरियाका मानिसको उचाइ अरू देशका मानिसको भन्दा होचो छ । तर भारतीयको उचाइ भने यी देशका मानिसको तुलनामा औसत २ दशमलव ४ इन्च कमी छ ।

मानिसको शारीरिक उचाइलाई सामाजिक र वैज्ञानिक तवरबाट मूल्यांकन गर्ने गरिन्छ । पछिल्लो केही दशकमा, भारतको खाना र जीवनशैली पहिलेभन्दा राम्रो छ । तर भारतका वैज्ञानिक तथा डाक्टर यतिखेर दुविधा छन् । मानिसहरूको औसत उचाइ संसारभर बढ्दै गएका बेला भारतमा किन उल्टो भइरहेको छ भनेर उनीहरू अन्योलग्रत भएका हुन् । बढ्दो प्रदूषण यसको कारण हो कि भनेर वैज्ञानिकहरूले अध्ययन अनुसन्धान जारी राखेका छन् ।

हालै एक अमेरिकी संगठनले गरेको एउटा अनुसन्धान परियोजनाले जनाएअनुसार औसत उचाइको हिसाबमा नेपाल संसारको तल्लो १० देशमा पर्छ । विश्व जनसंख्या समीक्षाले औसत उचाइका हिसाबले नेपाललाई तलबाट छैटौं स्थानमा राखेको छ । उक्त अध्ययनअनुसार नेपालीको उचाइ औसत ६४ दशमलव १७ इन्च (१ दशमलव ६३ मिटर) छ । नेपाली औसत उचाइको मापन इन्डोनेसियाली, बोलिभियन, फिलिपिनो, भियतनामी र कम्बोडियनहरूको औसत उचाइभन्दा उच्च छ ।

नेपाली पुरुषको औसत उचाइ १ सय ६३ सेन्टिमिटर छ भने नेपाली महिलाको औसत उचाइ १५० दशमलव ८ सेन्टिमिटर छ । नेपाली महिला संसारको तेस्रो सबैभन्दा होचो महिला हुन् । शीर्ष १० को उचाइ सूचीमा युरोपेली देशहरू मात्र छन् । अनुसन्धानका अनुसार नेदरल्यान्डस संसारमा सबैभन्दा अग्लो मानिस भएको देश हो । मोन्टेनेग्रो, डेनमार्क, नर्वे, सर्बिया, जर्मनी, क्रोएसिया, चेक गणतन्त्र, स्लोभेनिया र लक्जमबर्ग पनि नेदरल्यान्डपछि उच्च उचाइ मापन हुने देशमा पर्छन् ।

यता नेपालीको उचाइ र भारतका धेरै राज्यको उचाइमा भने समानता रहेको पाइएको छ । नेपालीको घटबढ उचाइको सम्बन्धमा यथेष्ट अनुसन्धान नभए पनि लगभग भौगोलिक परिवेश, जीवनशैली, शरीरको आकार, रूपलगायत मिल्दाजुल्दो छ । वैज्ञानिकहरूका अनुसार आमाको स्वास्थ्य, पर्यावरण, कुपोषण र प्रदुषणलगायत कारण बालबालिकाको उचाइ नबढ्नुका कारण हुन् । नेपालीको उचाइ विश्वमा छैटौं स्थानमा पर्छ ।
–विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया