शनिबार, वैशाख ८, २०८१

डब्ल्यूएचओद्वारा दुई चिनियाँ खोपको तेस्रो डोज लगाउन सिफारिस

नेपालखोज २०७८ असोज २७ गते ८:३३

काठमाडौं । विश्व स्वास्थ्य संगठनका विज्ञहरुले चीनमा निर्मित कोरोनाविरुद्धको भ्याक्सिन साइनोभ्याक तथा साइनोफार्म लगाउने ६० वर्षभन्दा माथिका मानिसलाई तेस्रो डोज पनि दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भ्याक्सिन रणनीति ग्रुपका अनुसार- चीनमा बनेका यी दुई भ्याक्सिन लगाएका ६० वर्षभन्दा माथिका व्यक्तिहरुले तेस्रो बुस्टर डोज पनि लगाउनुपर्छ । विज्ञहरुका अनुसार बुस्टर डोजमा कोरोनाविरुद्धको कुनै पनि खोप प्रयोग गर्न सकिन्छ ।

संगठनले चिनियाँ भ्याक्सिन साइनोभ्याक तथा साइनोफार्मका विषयमा किन बुस्टर डोजको निर्णय लियो भन्ने विषययमा विस्तृत जानकारी भने दिइएको छैन । विश्व स्वास्थ्य संगठन अहिलेसम्म बुस्टर डोजको विपक्षमा रहँदै आएको थियो । भनिन्छ- यी दुई चिनियाँ भ्याक्सिन निर्माणको क्रमदेखि नै विवादमा परेका थिए ।

विश्व स्वास्थ संगठनको भ्याक्सिन रणनीति ग्रुपका अनुसार- चीनको साइनोभ्याक तथा साइनोफार्म भ्याक्सिन लगाउने ६० वर्षभन्दा माथिका व्यक्तिले बुस्टर डोज पनि लिनुपर्छ ।

संशयमा चिनियाँ अधिकारी
केही महिनापहिले चीनको शीर्ष रोग नियन्त्रण अधिकारीले के भनेका थिए भने हाम्रो देशको कोरोना भाइरस विरोधी केही खोप कम प्रभावशाली छ त्यसैले सरकार यिनलाई थप प्रभावकारी बनाउने कुरामा विचार गरिरहेको छ । चीनको रोग नियन्त्रण केन्द्र (सीडीसी) का निर्देशक गाओ फूका अनुसार यी खोपको बचाऊ दर त्यति धेरै छैन । उनी भन्छन्, ‘अब हामी कोरोनाविरुद्धको खोपमा अलग-अलग खोप प्रयोग गर्ने विषयमा पनि गम्भीरतापूर्वक विचार गरिरहेका छौं ।’

चीनले यी दुई भ्याक्सिन थुप्रै देशमा ठुलो मात्रामा पठाएको छ । भनिन्छ औषधि निर्माता कम्पनी सिनोभ्याक तथा सिनोफार्मद्वारा निर्मित खोप मेक्सिको, टर्की, इन्डोनेसिया, हंगेरी, ब्राजिल आदि देशमा वितरण गरिएको छ । ब्राजिलका शोधकर्ताहरुले चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकको कोरोनाविरुद्धको खोप ५०.४ प्रतिशत मात्र प्रभावकारी रहेको पाएका थिए । त्यसको तुलनामा अमेरिकामा निर्मित फाइजर कम्पनीको खोप ९७ प्रतिशत प्रभावकारी पाइएको छ ।

डब्‍ल्‍यूएचओको भ्याक्सिन सल्लाहकार समूहको सिफारिसअनुसार जसको इम्‍युन सिस्‍टम कमजोर छ, उनीहरुलाई कोरोनाविरुद्धको भ्याक्सिनको एउटा अतिरिक्‍त डोज दिन सकिन्छ । केही देशबाट कोरोनाविरुद्धको भ्याक्सिन कम प्रभावकारी भएको कुरा आएपछि डब्‍ल्‍यूएचओले अतिरिक्‍त डोज र बुस्टर डोजमा विचार गर्न थालेको बताइन्छ । केही देशका विशेषज्ञहरुले बुस्टर डोजको समर्थन गरेका छन् । बुस्टर डोजको अर्थ कोरोनाविरुद्धको भ्याक्सिनको दुई डोज खोप लगाइसकेपछि तेस्रो डोज खोप लगाउनु हो ।

प्रतिक्रिया