शनिबार, वैशाख १५, २०८१

उमेरसँगै दसैँ पनि फरक !

नेपालखोज २०७८ असोज २७ गते १५:०४

काठमाडौं । पछिल्लो समयमा निकै रुचाइएका गायक हुन् प्रकाश सपुत । एकपछि अर्को गर्दै निकै राम्रा गीत पस्किन सफल गायक सपुत गीतलाई दर्शक स्रोताले निकै रुचाएका छन् । निकै मिजासिलो अनि नरम स्वभावका गायक सपुतको यस वर्ष दसैँ छैन । दसैँ नभए पनि घरपरिवार भेट्नकै लागि उनी गाउँ पुगेकै हुन्छन् । र, यस वर्ष पनि दसैँमा घर पुगेका छन् । निकै व्यस्त सेड्युलबीच पनि समय निकालेर उनी फूलपातिको दिन घर पुगे ।

अन्य समयमा जहाँ जता गएर जे काम गरे पनि दसैँमा समय निकालेरै भए पनि गाउँ पुग्नुपर्ने उनको बुझाइ छ । सपुत भन्छन् दसैँमा गाउँको माहोल नै बैग्लै हुन्छ । दसैँभन्दा पनि मलाई यतिबेलाको गाउँको मौसम निकै मन पर्छ । यतिबेला मौसम निकै खुलेको हुन्छ । दसैँमा गाउँको खुलेको मौसम अनि लामो समयसम्म भेटघाट नभएका साथीभाईसँग रमाइलो गर्न उनलाई मन पर्छ ।

उमेरअनुसार दसैँको रमाइलो छुट्टाछुट्टै हुने उनको अनुभव छ । सानो छँदा गाउँमा हुँदा दसैँमा नयाँ लुगा लगाउने र मीठो कुरा खाने नै सबैभन्दा महत्त्वपूर्ण हुन्थ्यो । साथै खेल्ने कुराहरू पनि महत्त्वपूर्ण लाग्थ्यो भने अलि ठूलो भएपछि गाउँमा मेला लगाउने, नाचगान गर्ने कुरा र अहिले आएर विभिन्न कार्यक्रम हुने कुरा नै महत्त्वपूर्ण लाग्ने गायक सपुतको बुझाइ छ ।

साथै अहिलेको जीवनशैली, स्रोत साधनले गर्दा दसैँ फरक हुँदै गएको उनले अनुभव गरेका छन् । सम्पूर्ण चाडपर्व हाम्रो जीवनशैलीसँगै जोडिएको हुँदा परिवर्तन हुँदै गएको उनले नेपालखोजसँगको कुराकानीमा बताए ।

यस वर्ष कोभिडको जोखिम कायमै रहेकाले जहाँसम्म स्वास्थ्य सावधानी अपनाएर घरपरिवारमै सीमित भएर चाडपर्व मनाउँदा उपयुक्त हुने गायक सपुत बताउँछन् । ‘दसैँ प्रत्येक वर्ष आउँछ । पहिलो कुरा त हामी सबैले सुरक्षित हुनु पर्यो । हामीले हाम्रा चाडपर्वलाई सांस्कृतिक अनि धार्मिक महत्त्वलाई निरन्तरता दिने हिसाबले मात्रै मनाउँदा उपयुक्त होला,’ उनले भने, ‘कथम् अहिले रमाइलो गर्दा त्यसले पछाडि गएर त्यसले कुनै पश्चाताप अथवा त्यस्तो नगर्नु पर्ने रहेछ भन्ने भाव नआउने हिसाबले, खर्चका हिसाबले, स्वास्थ्यका हिसाबले आफ्नो कम्फर्टमा रहेर, परिस्थितिअनुसार मनाउनुपर्छ ।’

प्रतिक्रिया