बिहीबार, वैशाख ६, २०८१

सबल बन्दै बैंकिङ क्षेत्र : ६२ बैंक तथा फाइनान्स कम्पनीले पुर्‍याए ३ खर्ब ६५ अर्ब चुक्ता पुँजी

नेपालखोज २०७८ असोज २७ गते १८:०७

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरु वित्तीयरुपमा निकै नै सवल बन्दै गएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म कायम गरेको चुक्ता पूँजीको परिमाणले गर्दा पनि बैंकिङ क्षेत्र थप सवल बन्दै गएको देखिएको हो ।

नेपालमा अहिले २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक, १७ वटा फाईनान्स कम्पनीहरु र ७० वटा लघुवित्त वित्तीय संस्थासमेत गरी कुल एक सय ३२ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । जसमध्ये लघुुवित्त संस्था बाहेक ६२ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले मात्र हाल तीन खर्ब ६५ अर्ब ९३ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् ।

नेपाल राष्ट्र बैैंकका अनुसार बैंकिङ क्षेत्रको कुल चुक्ता पूँजी मध्येमा वाणिज्य बैंकहरुले मात्र कायम गरेको कुल चुक्ता पूँजी भने तीन खर्ब २० अर्ब ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसैगरी विकास बैंकहरुले मात्र कायम गरेको चुक्ता पूँजी पनि पछिल्लो अवधिमा ३२ अर्ब २३ करोड २० लाख रुपैयाँ पुगेको छ । फाईनान्स कम्पनीहरुले भने चालु आर्थिक बर्षको पहिलो महिनासम्ममा १३ अर्ब सात करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् ।

राष्ट्र बैंकले चालुु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत पनि मर्जर तथा प्राप्तीलाई प्रोत्साह गरेको छ । सोही कारण धेरै वटा विकास बैंक तथा फाईनान्स कम्पनीहरु मर्जर तथा प्राप्ती प्रकृयामार्फत वाणिज्य बैंक तथा विकास बैंकहरुमा गाभिने तयारीमा छन् । यसले गर्दा आगामी समय पनि विकास बैंक र फाईनान्स कम्पनीहरुको तुलनामा वाणिज्य बैंकहरुको चुक्ता पूँजी बढ्छ, राष्ट्र बैंकले भनेको छ ।

अर्को तर्फ वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट लाभांस घोषणा गर्दा नगदको साटो बोनस सेयरलाई नै बढी महत्व दिएकाकारण पनि वाणिज्य बैंकहरुको कुल चुक्ता पूँजी अझै बढ्ने देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया