शुक्रबार, वैशाख ७, २०८१

‘संसद् नियमित गराउन एमालेसँग छलफल गर्न तयार छु’

नेपालखोज २०७८ असोज २७ गते १९:००

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए ।

बुधवार संचारकर्मीसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समिक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए । उनले संसद् चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनस्र्थापना गर्न लागि परे जस्तै संसद् सुचारुरुपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए । उनले संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए ।

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरुमा आएको कुरा सही नभएको बताए । उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफुले नरोकेको सहजीकरण नै गरेको बताए । उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरु उदासीन नभएको बताउँदै संसद सुचारु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिवद्धता जनाए । उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरुले समिक्षा गर्नुपर्ने बताए ।

संसद लोकतन्त्रको आत्मा हो त्यसैले सभामुख र सांसदहरुको भूमिका बढाउन आवश्यक रहेको बताउँदै सभामुख सापकोटाले प्रवचन र प्रशिक्षणको विषय मात्र बनाइएको बताए । उनले लोकतन्त्र संघीय संसदमा कमै मात्र प्रयोग भएको बताए । आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा संसद् सुचारु रुपले चल्नेमा आफू आशावादी रहेको बताए ।

प्रतिक्रिया