शुक्रबार, चैत १६, २०८०

दुर्घटना निवारणमा तप्परता देखाउन अध्यक्ष केसीकाे आग्रह

नेपालखोज २०७८ असोज २७ गते २२:००
फाइल फोटो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडबाडका समयमा बढ्दो सवारी दुर्घटनाको निवारणमा योजनावद्धरुपमा तप्परता देखाउन आग्रह गरेका छन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी मुगु, कास्की, अछामलगायत जिल्लामा भएको सडक सवारी दुर्घटनामा परी धेरै व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

चाडपर्वको बेला वा यात्रुको चाप हुने बेलामा वा वर्षाकालमा यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु सवार गराउने, लामो दूरीमा पनि एकजना मात्र चालक राख्ने, पुराना र खराब अवस्थाका सवारी साधन चलाउने, यातायात क्षेत्रका सम्बद्ध निकायले सडक यातायातको राम्रो व्यवस्थापन नगर्ने, सडकको खराब स्थिति वा कच्ची सडकका कारणले वर्षेनी ठूलो सङ्ख्यामा नेपालीले आफ्नो जीवन गुमाउन परेको उनले जनाए ।

“हामी सरकार र सम्बद्ध निकायलाई यसतर्फ गम्भीररुपमा ध्यानाकर्षण गराउँदै सडक यातायातको क्षेत्रमा हुने समस्याको व्यापक सुधारगरी यसप्रकारका सडक दुर्घटना हटाउन माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “यो कुनै प्राकृतिक विपद् वा दुर्घटना होइन, मानवीय कमजोरी हो । यसलाई हटाउन सकिन्छ र हटाउन पर्दछ ।”

प्रतिक्रिया