शनिबार, वैशाख १५, २०८१

पाल्पाको भैरवबाबामा दर्शनार्थी बढे, आकर्षण एसियाकै ठूलो त्रिशूल

नेपालखोज २०७८ असोज २८ गते ११:१२

पाल्पा । पाल्पाको भैरवबाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूल रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्छन् ।

कोरोनाले सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल देखिन्छ । यहाँ विशेष गरी नवरात्रको सप्तमीदेखि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लिँदै छ । महाअष्टमीका दिन मात्रै झन्डै एक हजार ५०० दर्शनार्थीको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवाली बताउँछन् । उनका अनुसार अघिल्ला वर्षको तथ्यांक त यो उपस्थिति पनि कम हो, तर पछिल्लो समयमा यहाँ कोरोना महामारीका कारण नआएका दर्शनार्थी आउन थालेका हुन् ।

‘नवरात्रका समयमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलै घुइँचो लाग्थ्यो, कोरोनाको असरले गत वर्ष र यो वर्ष भने विगतको अवस्थालाई हेर्दा दर्शनार्थीको उपस्थिति न्यून भए पनि अहिले पुनः मन्दिरमा विस्तारै चहलपहल बढ्दै जानु सुखद पक्ष मान्नु नै पर्छ,’ उनले भने । यहाँ महामारी सुरु हुनुअघि नवरात्रको समयमा पूजाआजा गर्ने, अवलोकन गर्नेको संख्या एक लाखको हाराहारीमा हुन्थ्यो । दसैँ पर्वमा हुने भिडलाई दृष्टिगत गर्दै मन्दिर व्यवस्थापन समिति, कर्मचारी र ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिन्थ्यो । यहाँ दसैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने रोट बनाएर भगवान्‌लाई चढाउने चलन छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रले प्रसिद्ध भैरवस्थान मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास र यहाँको रमणीय वातावरण अवलोकन गरेर फर्कंदा निकै आनन्द लाग्ने गरेको बताउँछन्, दर्शनार्थी सुदीप खनाल । ‘नवरात्रको समय भएकाले पनि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लै थियो, करिब तीन घण्टा लाइनमा बसेर पूजाआजा गरी फर्कियौँ, दसैँका बेला शक्तिपीठको दर्शन गर्ने इच्छाले भैरवबाबाको दर्शन गरेपछि मन आनन्दित भएको छ,’ उनले भने ।

यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्यांक छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो सङ्ख्यामा पूजाका निम्ति आउने गरेका छन् । यस्तै तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गर्छन् । पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुद्री सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशंकर, माछापुच्छ्रे, धौलागिरि, नीलगिरिलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । शक्ति सम्पन्न पीठ भएकाले पनि यहाँ ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् । -रासस

प्रतिक्रिया