दसैँका लागि मात्र बाहिरियो आधा खर्बको नयाँ नोट
प्रवक्ता ढकाल भन्छन्- नोट राज्यको सम्पत्ति हो यसको हिफाजत गरौं, अनावश्यक फोहोर नगरौं
काठमाडौं । दसैँको अवधिमा मात्र राष्ट्र बैंकबाट आधा खर्ब रुपैयाँबराबरको नयाँ नोट बाहिरिएको छ । राष्ट्र बैंकले दसैँ, तिहार र छठसमेतलाई लक्षित गर्दै आमनागरिकलाई चाडपर्वलाई अझ उल्साहमय बनाउन ५० अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको हो ।
यसको लागि राष्ट्र बैंकले पुरानो नोटसँग नयाँ नोट सटही गर्ने सुविधा उपलब्ध गराएको थियो । यस्तो सुविधा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरमा पाँच, दश, २०, ५० र एक सय अंकित नोटको एक सेट उपलब्ध गराएको थियो । नोट सटहीका लागि नेपाल राष्ट्र बैंकको क्षेत्रीय तथा प्रादेशिक कार्यालयसहित २७ वटै वाणिज्य बैकहरु र त्यसको शाखा कार्यालयहरु, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटै विकास बैंक र त्यसका शाखा कार्यालहरु एवं १८ वटै फाइनान्स कम्पनीहरु र त्यसको सबै शाखामार्फत ग्राहकहरुलाई नयाँ नोटको सटही सुविधा उपलब्ध गराएको थियो ।
‘कोभिड-१९ को विश्व महामारीलाई लक्षित गर्दै दसैँ सुरु हुनुभन्दा झन्डै एक साताअघि नै नयाँ नोटको वितरण सुरु गरेकाले सर्वसाधाणहरुले बिनाझन्झट, सहज रुपमा सबैले नयाँ नोट पाउनुभयो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘सबै नागरिकले नयाँ नोट पाउनुभएको छ, नोट राष्ट्रको सम्पत्ति हो, यसलाई सबैले हिफाजत गर्नुपर्छ ।’
‘विशेषगरी मान्यजनहरुबाट टीका ग्रहण गर्दा आशीर्वादसँगै दक्षिणा पनि दिइन्छ, तर दक्षिणा दिँदा वा लिँदा नोटमा सकभर अबिर, केसरीलगायत वस्तुहरु नपारौं, यसले नोटको आयु घटाउँछ, नोटको आयु घट्नु भनेको राज्यलाई घाटा हुनु हो,’ उनले भने ।
चाडपर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गर्दै प्रवक्ता ढकालले नोटमा अनावश्यक केरमेट, पट्याउने, खुम्च्याउने, फोहोर बनाउने कार्य नगर्न पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया