शुक्रबार, चैत १६, २०८०

शरीरमा पानी कम हुँदा देखापर्ने लक्षण !

नेपालखोज २०७८ असोज ३० गते १४:१४

भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ति पानीबाटै सुरु भएको भन्ने तर्क पेस गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण गरेर हेर्ने हो भने यसको लगभग ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ । पानी हाम्रो शरीरको हरेक कोष-कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टि पनि एक्ट्रासेलुलार फुलइड (कोषबाहिरको तरल) का रुपमा पानी नै छ । हड्डी जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा ७२ प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत पानी छ भने सम्पूर्ण शरीरमा ७० प्रतिशत पानी छ । शरीरमा हुने महत्त्वपूर्ण जैव रासायनिक क्रियाहरुमा हिस्सा लिने, प्रत्यक्ष एवं परोक्ष रुपले संलग्न रहन यो यौगिकले मुख्यतः शरीरमा हुने अनेकौं जैव रासायनिक क्रियाहरुका लागि जलीय माध्यम उपलब्ध गराउने गर्छ भने विभिन्न रासायनिक क्रियाहरुमा आफैं पनि हिस्सा लिएर संलग्न रहने, विभिन्न तत्त्वहरुको परिवहन गराउने, शरीरको रक्तचाप र तापक्रम नियन्त्रण गर्नेदेखि पाचन एवं उप-पाचनपश्चात् उत्पादित विजातीय द्रव्यहरुको निष्कासनमा पनि पानीले महत्त्वपूर्ण भूमिका खेल्छ ।

यसरी जीवनको महत्त्वपूर्ण घटकको रुपमा रहेको यस यौगिकको शारीरमा क्षय पनि निरन्तर रुपमा भइरहने हुँदा यसको पूर्ति गर्नका लागि हामीले निरन्तर रुपमा (जलपान) पानी पिइरहनुपर्ने हुन्छ । नियमित अन्तरालमा जलपान नगर्दा थाहै नपाईकन जल-अल्पताको सिकार भई अनेकौं स्वास्थ्य समस्या देखा पर्न सक्छन् । आफ्नै लापरबाहीका कारण सिकिस्त रोगको चंगुलमा फसेर व्यक्ति रोगी बन्न सक्छ । तसर्थ हामी सबै (वयस्क व्यक्तिले) दैनिक ४-५ लिटर पानी पिउन आवश्यक छ तर भागदौडले भरिएको यस जिन्दगीमा व्यस्तता एवं विस्मृतिका कारण पर्याप्त पानी नपिइरहेका हुन सक्छौं । तर हामीले पर्याप्त पानी पिइरहेका छौं/छैनौं भनेर पर्याप्त पानी नपिउँदा उत्पन्न हुने केही शारीरिक एवं मानसिक चिह्‍न एवं लक्षणहरुको जानकारी हुन आवश्यक छ । यी चिह्‍न एवं लक्षणहरुको ज्ञात हुन सके आफूले पानी पर्याप्त पिएको, नपिएको बेलैमा जाँच गरी तत्काल पानी पिउन सकिन्छ । पानी पर्याप्त नपिउँदा देखापर्ने चिह्‌न एवं लक्षणहरु निम्न छन् ।

मुख सुक्ने : शरीरमा पानी कम भएको मुख्य लक्षण भनेको मुख सुक्नु हो । शरीरमा पानीको मात्रा कम भएपछि र्‍याल ग्रन्थीले पर्याप्त र्‍याल बनाउन सक्दैन । फलतः मुख एवं घाँटी सुक्छ । बारबार मुख एवं घाँटी सुक्न थाल्यो भने यो समस्या निर्जलीकरणले गर्दा हो भन्ने बुझेर तुरुन्त पानी पिउनुपर्छ तर पानीको पूर्ति नुन चिनी हालिएको एवं कार्बोनेटेड पेयले गर्न सक्दैन । यस्ता पेय पिउँदा झन् जल-अल्पता बढ्छ । यसर्थ तिर्खा लागेका बेलामा पानी पिएर नै तिर्खा मेट्नुपर्छ ।

छाला सुक्खा हुने : शरीरमा जल-अल्पता बढ्दै गएपछि छालामा रक्त प्रवाह गर्ने रक्तनलीहरु संकुचित भई छालाबाट हुने पानीको क्षय रोकिएर छालाको ओसिलोपन नाश हुन पुग्दछ । यस्तो अवस्थामा छाला सुक्खा हुने, चाउरिने, फुस्रो हुने, झुल्लिने र छालाको प्राकृतिक चमक नष्ट हुने गर्दछ ।

जोर्नी दुखाइ : जोर्नी दुई हड्डीहरुको संगमलाई भनिन्छ । जोर्नीमा दुई हड्डीहरुलाई आपसमा बाँधेर राख्ने लिगामेन्टहरु हुन्छन् भने सन्धि स्थानमा कार्टिलज नामक कोमल तन्तुहरु पनि हुन्छन् । लिगामेन्ट एवं कार्टिलेज जस्ता कोमल तन्तुहरुमा पनि ७० देखि ८० प्रतिशत पानी हुन्छ । यी तन्तुहरुलाई निर्वाध कार्यरत रहनका लागि पर्याप्त पानी आपूर्ति भइरहनुपर्छ । शरीरमा पानीको अभाव भइरहेको खण्डमा यी तन्तुहरुमा हुने पानी कम भई तन्तुहरु विगठित हुन सक्छन् । फलतः जोर्नी दुख्ने, सुन्निने, लिगामेन्ट एवं कार्टिलेजहरु खिइने र जोर्नी नै विकृत हुने जस्ता समस्याहरु देखापर्छन् । यद्यपि जोर्नीको स्वास्थ्यलाई खराब गर्ने धेरै तत्त्वहरु छन् र त्यसमध्ये आम एवं वास्ता नगरिएको कारण कम पानीको सेवन पनि हो ।

पहेंलो पिसाब आउनु : पिसाब स्वास्थ्यको दर्पण हो । पिसाबको रङले स्वास्थ्यको धेरै आयामहरुको जानकारी दिन सक्छ । यसमध्ये पिसाबको रङले शरीरमा पानी कम भए, नभएको विषयको पनि जानकारी दिनेगर्छ । यदि पिसाबको रङ पहेंलो हुँदै गयो भने मान्नुहोस् कि तपाईंको शरीरमा जलअल्पता सुरु भइसक्यो । तपाईंको शरीरले पिसाबबाट हुने जल-बिसर्जनलाई रोक्न थालिसक्यो । यसर्थ, हाम्रो शरीरमा हुने जल-अल्पताको पहिलो चिह्‌नको रुपमा पहेंलो पिसाबलाई लिन सकिन्छ । साधारणत: मान्छेको पिसाब हल्का पहेलो रङको हुन्छ तर पिसाब गाढा पहेंलो हुँदै गयो भने मान्नुस् कि यो जल अल्पताको लक्षण हो ।

पिसाबको मात्रा कम हुनु : नियमित रुपमा पानी पिइरहने व्यक्तिले नियमित रुपमा पिसाब फेरि पनि रहने गर्छ । तर शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पिसाबको मात्रा र नियमितता पनि कम हुने गर्छ । साधारणत: एउटा स्वस्थ व्यक्तिले ६ देखि ७ पटकसम्म पिसाब फेर्ने गर्छ । तर दैनिक ६, ७ चोटिभन्दा कम पिसाब फेरिएमा यो जल अल्पताको प्रारम्भिक चिह्‌न हुन सक्छ ।

कब्जियत : मल बिसर्जनको नियमितता अत्यन्त कम भई दैनिक एकपल्टसम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ । उसै त कब्जियत अनेकौं कारणले हुने गर्छ । तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा पनि कब्जियतका लक्षणहरु देखापर्ने गर्छ । यसकारण पानी कम भएर कब्जियत भएको भए पानी पिएरै कब्जियत ठीक गर्न सकिन्छ र अन्य कारणबाट कब्जियत भएको भए पनि प्रशस्त पानी पिउँदा कब्जियत निवारणमा ठूलो टेवा पुर्‍याउँछ ।

पाचनसम्बन्धी समस्या : नियमित रुपमा पाचन समस्याबाट ग्रस्त भइरहनुभएको छ र पानी पनि पर्याप्त मात्रामा पिउनु हुन्न भने तपाईंको पाचन समस्या जल-अल्पताको कारणले हुन सक्छ । पाचन नियमित हुन चाहिने पर्याप्त पानी नपिउँदा विशेषगरी अम्लपित्त, अपच, अजीर्णता, पेट फुल्ने दुख्ने ढ्याउढ्याउ आउनेजस्ता समस्या देखिन सक्छ । यसको अलावा ग्यास्ट्रिक, कब्जियत, अपान वायुको वृद्धि र ढ्याउढ्याउ आउनेजस्ता समस्याहरु पनि जल अल्पताकै कारणले हुने गर्छ ।

कमजोर प्रतिरक्षा प्रणाली : हाम्रो शरीरमा रोग एवं किटाणुहरुसँग लड्नका लागि प्रतिरक्षा प्रणालीको व्यवस्था छ । प्रतिरक्षा प्रणाली सशक्त भएको खण्डमा शरीरले धेरै रोगविरुद्ध सशक्त ढंगले लडेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा शरीरबाट निष्कासित भएर जानुपर्ने विजातीय द्रव्यहरु विसर्जन हुन नसक्दा शरीरमा विष सञ्चय हुन पुग्छ । फलतः यी विजातीय द्रव्यहरुको संकलनले प्रतिरक्षा प्रणालीको स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्दछ ।

कान्ति क्षय : शरीरमा पानी कम भएको खण्डमा व्याक्तिको कान्ति एवं तेज पनि कम हुने गर्छ । यदि कसैलाई शरीरमा कम ऊर्जाको महसुस हुन थाल्यो भने यसको कारण जल-अल्पता पनि हुन सक्छ ।

प्रतिक्रिया