शुक्रबार, वैशाख २८, २०८१

छुट्टाछुट्टै दुर्घटनामा ११ जनाको मृत्यु

नेपालखोज २०७८ असोज ३१ गते १२:०१

काठमाडौं । सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारीसाधन दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

सप्तरीको सुरुंगा नगरपालिका ३, कर्हवा चोकमा प्र.३-०२-०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका २, हदिया बस्ने ७० वर्षीय रामेश्वर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट सख्त घाइते भएका उनको उपचारका लागि सप्तऋषि अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४, लादेस्थित सडकमा प्रदेश ०२–००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठोकिएर शनिबार दिउँसो दुर्घटना हुँदा दैलेख नारायण नगरपालिका ११ का १८ वर्षीय सुशील रावतसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका ५, पार्करोडस्थित सकडमा से.६प १९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका १, गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर रहेका छन् । दुर्घटनामा सख्त घाइते भएका सुन्दरको टीकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो भने केशवको सोही अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने आशिष मगरको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका २, जुडीस्थित सडकमा बा.४८प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दीपलाल महरा छन् । दुर्घटनामा सख्त घाइते भएका उनीहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय लालबाबु पासवानको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २, लामिबगरस्थित सडकमा ना.१ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका १६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका ७, गोविन्दपुर बस्ने ५० वर्षीय रामसनही राम रहेका छन् । दुर्घटनामा सख्त घाइते भएका उनीहरुको पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सुमो चालकसहित चार जनालाई हेटौंडास्थित सन्चो अस्पताल र चार जनाको स्टार अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका २६, सुन्दरी बजारमा ग.१२प ४०३२ नम्बरको मोटरसाइकल र ग.१ज ६८७८ नम्बरको पिकअप भ्यान आपसमा ठक्कर खाएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका ५, मिजुरेडाँडाका ४५ वर्षीय सूर्यबहादुर क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका उनको लेखनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सन्दीप केसीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको र अवस्था चिन्ताजनक रहेको छ । फरार रहेका गाडी चालकको भने प्रहरीले खोजी गरिरहेको छ ।

बाँकेको खजुरा गाउँपालिका ३, धौलागिरिस्थित सडकमा भे.१ह ७०२ नम्बरको अटो शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका ४ की ४५ वर्षीया प्रेमकला सुनारको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएकी उनको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया