शनिबार, जेठ ५, २०८१

नेप्से १७ अंकले बढ्यो, १ अर्ब ४९ करोडको सेयर किनबेच

नेपालखोज २०७८ असोज ३१ गते १५:२८

काठमाडौं । दसैँको लामो बिदा पछि खुलेको सेयर बजार आज पहिलो दिन नै बढेको छ । सेयर बजार परिसूचक (नेप्से) आज १७ दशमलव ५९ अंकले बढेर २६ सय ५६ दशमलव ९६ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव १७ अंकले बढेर चार सय ९७ दशमलव ३९ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय १८ वटा कम्पनीको २१ हजार तीन सय २८ पटकको कारोबारमा ४७ लाख ६० हजार दुई सय ९५ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार तीन सय ७१ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक शुन्य दशमलव ११ अंकले घटेर बाँकी समूहरुको सूचक उच्च अंकले बढेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव २४ अंकले बढेर १८ सय ६२ दशमलव १९ अंकमा पुगेकामा विकास बैंक समूहको सूचक पनि ६५ दशमलव ५४ अंकले बढेर ४८ सय ५८ दशमलव ३० अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक पनि एक सय २२ दशमलव ४७ अंकले बढेर ११ हजार नौ सय ९९ दशमलव ९७ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि एक सय १२ दशमलव ६३ अंकले बढेर १५ हजार ४३ दशमलव ९७ अंकमा पुगेको छ ।

यीबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुुवित्त र लगानी समूहरुको सूचक पनि बढेका छन् । आज बढी कमाउने कम्पनीहरुको सूचीमा परेको चन्द्रागिरि हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ९७ प्रतिशतले बढेर १३ सय ५० रुपैयाँमा कारोबार हुँदा सिटिजन्स म्युचुअल फन्ड-२ को प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेर १० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १४ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ३२ लाख ६७ हजार दुई सय १४ रुपैयाँ ७० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया