शनिबार, मंसिर २९, २०८१

‘राष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगायाे’

नेपालखोज २०७८ असोज ३१ गते १७:३२

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंसा गरेका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रमा बोल्दै मन्त्री गहतराजले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसके पनि आफू निराश नभएको बताए । ‘म राष्ट्रिय फुटबल खेलाडीहरुको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री गहतराजले भने, ‘नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधिहरु जित्न सक्छ ।’

आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक, प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरुले खेल्ने अपेक्षा समेत गरेको सुनाए । नेपालले समग्रमा साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको भनाई थियो । साथै नेपालले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखिएको पनि उनले बताएका छन्।

भारतलाई लामो समयसम्म गोल गर्नबाट रोक्न सकेको भन्दै जितको आशा भने पूरा नभएको बताए । खेलाडीहरु खेल्दा खेल्दै असफल भएको उनको भनाई थियो । नेपालको खेलको समिक्षा हुने र भविष्यमा अझ खेलस्तर सुधार्न आवश्यक कदमहरु चालिने उनले बताएका छन् ।

आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको उनले बताए । मन्त्री नियुक्त भएकै दिनदेखि आफू काममा खटिइसकेको र आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गर्न योजनावद्ध तरिकाले बढिरहेको बताए ।

गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यस अनुसारको काम अघि बढाउने मन्त्री गहतराजले बताए । साथै उनले खेल क्षेत्रलाई परिणाममुखी बनाउन अपेक्षित परिणाम हासिल नभएको बताएका छन् ।

प्रतिक्रिया