मंगलबार, वैशाख ४, २०८१

जति आम्दानी बढ्दै जान्छ, उति हृदयरोगको सम्भावना !

नेपालखोज २०७८ कार्तिक १ गते ८:२८

काठमाडौं । आधुनिकताको विकाससँगै मानिसको काम गर्ने शैलीमा पनि परिवर्तन भएको छ । प्रविधिको विकाससँगै काममा सहज भए पनि केही मानिसमा लामो समयसम्म काममा खटिने बाध्यता र बानी पनि छ । स्वास्थ्यविद्का अनुसार सातामा ५४ घण्टाभन्दा बढी काम स्वास्थ्यका लागि घातक हुने गर्छ ।

कुनै पनि काममा बढी खटिने मानिसको विभिन्न रोगका कारण मृत्युसम्म हुने गरेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । कामको बोझका कारण हरेक वर्ष संसारमा १९ लाख मानिसको मृत्यु हुने गर्छ । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रमिक महासंघको अध्ययनअनुसार सन् २०१६ मा अहिलेसम्मकै सबैभन्दा बढी १९ लाख मानिसको मृत्यु कामको चापले भएको छ ।

करिब साढे ७ लाख मानिसको मृत्यु हृदयाघातका कारण भएको छ । रगतमा उत्तरचढावका कारण साढे ४ लाखको ज्यान गएको छ । काम गर्ने सिलसिलामा वायु प्रदूषणका कारण साढे ४ लाख मानिसले ज्यान गुमाएका छन् । कामकै सिलसिलामा भएको दुर्घटनाका कारण साढे ५ लाख मानिसको मृत्यु भएको उल्लेख छ ।

विभिन्न काममा खटिनेहरूको मुटु रोग वा उच्च रक्तचापका कारण संसारमा ९० लाख मानिसको प्रत्येक वर्ष मृत्यु हुने गरेको छ । मुट रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल, मोटोपन र डायबिटिजका कारण पनि मानिसको मृत्यु हुने गरेको छ । धेरै घण्टासम्म कार्यालय, उद्योग तथा पसलमा बसेर काम गर्नु, कामको तनाव लिनु र व्याम नगर्नु उच्च रक्तचापको मुख्य कारण मान्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार काममा बढी चाप भएर बढी आम्दानी गर्नेहरूको पनि हृदयाघातलगायत कारणले मृत्यु भएको छ ।

हृदय रोग मानिसको आयसँग पनि जोडिएको छ । जति मानिसको जीवनमा आम्दानी बढ्दै जान्छ, उति हृदयरोगको सम्भावना पनि बढ्ने गर्छ । यस्तै श्रम गरेअनुसार कम धेरै कम आम्दानी हुँदा पनि तनावसँगै विभिन्न रोगका कारण मानिसको मृत्यु हुने गरेको छ । बढी कामकै कारण सबैभन्दा बढी मृत्यु हुने अर्को कारणमा अल्जाइमर रोग हो । मृत्युको अर्को कारण स्ट्रोक हो ।

चाहिनेभन्दा बढी श्रमले अकाल मृत्युको बढी खतरा !

क्याम्ब्रिज युनिभर्सिटीको विज्ञान विभागको अध्ययनअनुसार बढी समय काम गर्दा निद्रा खचपचिने, टाउको दुख्ने, ग्यास्ट्रिकको समस्या, रक्तचाप बढ्ने, मुटुसम्बन्धी रोग, थकाइ लाग्नेलगायत समस्या हुन सक्छन् । यस्तै भावनात्मक रूपमा बढी रिस उठ्ने समस्या, डिप्रेसन हुने र मन भड्किने समस्या हुने गर्छ । बढी काममा खटिँदा हुने स्वास्थ्य समस्याहरूमा सोचमा एकग्रता नहुने, उत्प्रेरणाको कमी, सोच्न सक्ने प्रणालीमा कठिनाइ, स्मरण शक्तिमा कमजोरी र निर्णय क्षमतामा कमजोरीपनालगायत छन् ।

यस्तै बढी काममा चापसँगै सफलता प्राप्त नहुँदा व्यवहारिक रूपमा मानिसलाई कठिनाइ पर्न सक्छ । काम र असफलताको तनाव नियन्त्रणमा लिन लागुपदार्थ र मादक पदार्थको लतमा फस्ने पनि समस्या हुने गर्छ । यस्तै तनाव तथा थकाइका कारण कामवासनामा कमी आउने हुन्छ । यस्तै अस्वभाविक व्यवहार देखाउने, एकान्तमा बस्ने खोज्ने, काममा मितव्ययिताको कमीलगायत समस्याहरू पनि देखिन सक्ने क्याम्ब्रिज युनिभर्सिटीको अध्ययनले देखाएको छ ।

कुनै पनि जागिर, व्यापार, उद्योग व्यवसाय आदि गर्दा काममा निरन्तरता सफलताका लागि एकदमै प्रभावकारी पक्ष हो । तर बढी लगाव दिएर निद्रा–भोक नै बिर्सिएर काम गर्दा शारीरिक र मानसिक अवस्था कमजोर भई आफू कार्यरत संस्था तथा कार्यालयमै असर गर्ने हुन्छ । लगातार काम गर्दा बढी स्वास्थ्यमा कमजोर भएपछि कामदारहरू वा स्वयं मालिक पनि कार्यालय तथा कार्यस्थलमा अनुपस्थित हुने समस्या बढी हुने गर्छ ।

यस्तै बारम्बार कामदारहरू फेरिने, मालिकले पनि कामै गर्न नसक्ने, कम समय दिन खोज्ने, राम्रो काम देखाउन नसक्ने, उत्पादन राम्रो नहुने, हिसाबकिताब राम्रो गर्न नसक्ने, कम मनोबल, जिम्मेवार व्यक्तिबाट वा ग्राहकबाट बढी गुनासो आउनेलगायत समस्याहरू हुने गर्छ । यस्तै शरीर बिरामी हुने, विभिन्न काम बिगार्ने र घटना–दुर्घटनासम्बन्धी लगायत समस्याहरू हुने गर्छन् ।

प्रतिक्रिया