बिहीबार, वैशाख १३, २०८१

म्याग्दीका होटल आन्तरिक पर्यटकले भरिए

नेपालखोज २०७८ कार्तिक १ गते ७:४९

म्याग्दी । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् ।

होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए ।

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोरेपानी, सिङ्गा तातोपानीका होटल आन्तरिक पर्यटकले भरिभराउ बनेका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । बेनीका होटलमा पाहुना राख्न नसकेपछि बागलुङ र कुश्मामा पठाएको व्यवसायीले बताएका छन् ।

बडादसँैको टीकाको भोलिपल्टदेखि काठमाडाँै, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हँुदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढेको बताए ।

पछिल्लो दुई दिनयता दैनिक ५०० बढी सवारी साधन बेनी–जोमसोम सडकमा आवतजावत गरिरहेका उहाँले बताए । यसअघि दैनिक १०० देखि १५० सवारी साधन आवतजावत गर्दथे । पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्ने मुस्ताङ घुम्न आएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले बताए ।

प्रतिक्रिया