महिला हिंसाका घटना बढ्दो
काठमाडौं । शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।
सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिंसा पीडित २८१ महिलालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ ।
ती मध्ये महिला २७६ र बालिका पाँच छन् । प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ । सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका तीन र बालविवाहका ३० छन् ।
यसैगरी, अलपत्र परेका १२ व्यक्तिको उद्धार गरी सम्बन्धित निकायमा पुर्याइएको छ । सेफ हाउसमा पीडित भई पुगेका २० महिलालाई मनोविर्मश सेवासमेत प्रदान गरिएको छ ।
गत साउन, भदौ र असोजमा गरी ५० महिला माथि हिंसाका घटनाका उजुरी सेफ हाउसमा आएका बताइएको छ । सेफ हाउस सञ्चालन समितिका अध्यक्ष पुष्पा केसीले अनुसार केही उजुरीमा महिलाबाट पुरुषसमेत पीडित रहेको पाइएको छ ।
प्रतिक्रिया