शनिबार, वैशाख १५, २०८१

नेपालका कथित नागरिक यूपीमा चरेससहित पक्राउ, १३७ वटा चोरीको आरोप

नेपालखोज २०७८ कार्तिक २ गते ८:४३

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने महराजगन्ज जिल्लामा ११ महिनाअघि चौक थानाको हीरासतबाट फरार भएको एक कथित चोर पक्राउ परेको छ । जसको परिचय नेपाली नागरिकका रुपमा दिइएको छ । भनिन्छ यो चोर फरार भएपछि तत्कालीन थानाध्यक्ष अरुण दुबेसमेत आधा दर्जन प्रहरी लाइन हाजिरीमा परेका थिए । त्यसैले पनि आरोपी व्यक्तिलाई गिरफ्तार गर्नु स्थानीय पुलिसका लागि इज्जतको प्रश्न र चुनौती दुवै भएको थियो ।

आरोपी व्यक्तिमाथि भारु बीस हजारको पुरस्कारसमेत घोषणा गरिएको थियो । ती व्यक्तिको नाम मुसम्मी उर्फ राजमन चौहान बताइएको छ । स्थानीय प्रहरीका अनुसार चौहान नेपाली हो । यूपी पुलिसले उसलाई पटके चोर बताउँदै उसले एक्लैले चोरी गरेर तत्काल नेपाल पस्ने गरेको दाबी गरेको छ ।

डेढ किलो चरेससहित गिरफ्तारी
स्थानीय क्षेत्राधिकारी डीके उपाध्यायको हवाला दिँदै आजतकले दिएको समाचारअनुसार गत आइतबार ऊ (फरार मुसम्मी उर्फ राजमन) ठूठीबारीको मरर्चहवा बाँधनजिक मादकपदार्थ र अन्य असलहा लिएर आएको सूचना प्राप्त भएको थियो । त्यसपछि क्षेत्राधिकारी (सीओ) उपाध्यायको नेतृत्वमा कोतवाल सन्जय दुबे तथा उनको टिमले घटनास्थलको घेराबन्दी गरेर आरोपी राजमनलाई गिरफ्तार गरियो ।

यो क्षेत्र नेपालको रुपन्देही-नवलपरासी जिल्लाको सीमावर्ती भारतीय क्षेत्र हो र आरोपी राजमन चौहान हरखपुर थाना बेलाटारी, जिल्ला नवलपरासीको बासिन्दा भएको यूपी प्रहरीको भनाइ छ । तलासीका क्रममा उसबाट एक किलो पाँच सय ग्राम चरेसका साथै एउटा हेन्डमेड स्थानीय पेस्तोल तथा दुईवटा जिउँदा कारतुससमेत बरामद गरिएको बताइएको छ ।

स्थानीय क्षेत्राधिकारी डीके उपाध्यायले आजतकलाई बताएअनुसार नेपाली नागरिक राजमन एउटा अपराधी हो । ऊसँगको सोधपुछका क्रममा अहिलेसम्म प्राप्त जानकारीअनुसार चौहानले भारतमा कुल १३७ वटा चोरी गरिसकेको छ ।

राजमनलाई यूपी पुलिसले पहिले पनि गिरफ्तार गरेर हीरासतमा राखेको थियो । तर ऊ १६ नोभेम्बर २०२० मा हीरासतबाटै भाग्न सफल भएको बताइएको छ ।

प्रतिक्रिया