शुक्रबार, चैत १६, २०८०

बाढी-पहिरो र डुबानमा परेर मृत्यु हुनेकाे संख्या बढ्दै, यस्तो छ देशभरको स्थिति ? (विवरणसहित)

नेपालखोज २०७८ कार्तिक ३ गते ११:५८

काठमाडौं । केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा मृत्यु हुनेकाे संख्या बढ्दै गइरहेकाे छ ।

गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार ४३ जना अझै बेपत्ता भएका छन् । विपत्‌मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको उनकाे भनाइ छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले राससलाई जानकारी दिइन् ।

उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताए । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले देशको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । रासस

प्रतिक्रिया